राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी, रुसद्वारा निन्दा



एजेन्सी । नेदरल्यान्डको हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पुटिनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा देशनिकाला गरेको आरोपमा हेगले पक्राउ पुर्जी जारी गरेको हो ।

आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । आइसिसी सदस्य देशका सरकारको सहयोगबिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुटिन र मारिया पक्राउ पर्ने सम्भावना भने अति कम छ ।

मस्कोले भने आइसिसीको आदेशलाई अर्थहीन भनेको छ । साथै, आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी हुनुलाई अपमानजनक र निन्दनीय भएको बताएको छ । रुसी नेता पुटिन आइसिसीले पक्राउ पुर्जी जारी गरेको तेस्रो बहालवाला राष्ट्रपति हुन् ।

रुस आइसिसीको पक्ष राष्ट्र नभएकाले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना छैन । अर्थात् द हेगमा रहेको उक्त अदालतको आदेश कार्यान्वयन हुने कुनै आधार पनि छैन । यद्यपि त्यसले राष्ट्रपति पुटिनको अन्तर्राष्ट्रिय यात्रामा भने असर पर्नसक्छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता लिएका विश्वका १२३ सदस्य राष्ट्रमध्ये कुनैमा उनले पाइला राखेमा पक्राउ गर्न सकिनेछ । आइसिसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तर्राष्ट्रिय सहयोगमा निर्भर हुने बताएका छन् ।

युद्धग्रस्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आइसिसीले पक्राउ पुर्जी जारी गरेकामा स्वागत गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अदालतको कदमलाइ ऐतिहासिक भनेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी साता हुने मस्को भ्रमण र रुसलाई चीनले सैन्य सहायता गर्ने समाचार सार्वजनिक भइरहेका बेला जारी भएको आइसिसीको आदेशले अन्तर्राष्ट्रिय जगतमा तरंग पैदा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेकामा स्वागत गरेका गरेका छन् । राष्ट्रपति पुटिनले युक्रेनमा युद्ध अपराध गरेको ठहर गर्दै पक्राउ पुर्जी जारी गर्नुलाई अमेरिकी राष्ट्रपतिले ‘न्याय संगत’ भनेका छन् ।

अमेरिका पनि आइसिसीको पक्ष राष्ट्र होइन । राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट डेलावरस्थित निजी निवासतर्फ प्रस्थान गर्नुअघि उनले रुसी राष्ट्रपति पुटिनले ‘स्पष्ट रूपमा युद्ध अपराध गरेको’ पत्रकारहरूलाई बताएका थिए ।

गत महिना जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसले पनि युक्रेनमा रुसले मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँदै दण्डित गर्नुपर्ने बताएकी थिइन् । रुसी सेनाले गैरसैनिक क्षेत्रमा आक्रमण गरेको र हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य गरेको आरोप लगाउँदै उनले रुसको निन्दा गरेकी थिइन् । 

त्यसअघि पनि बाइडेन प्रशासनले युक्रेनमा मस्कोले युद्ध अपराध गरेका प्रमाण आफूसँग रहेको जनाउँदै मस्कोविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउनुपर्नेमा जोड दिँदै आएको थियो ।


क्लिकमान्डु