युरो क्षेत्रको आर्थिक वृद्धि १ प्रतिशत हुने प्रक्षेपण



एजेन्सी । युरोपेली केन्द्रीय बैंक ईसीबीले सन् २०२३ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक गरेको छ ।

युरोपेली केन्द्रीय बैंकले ऊर्जाको मूल्यमा आएको गिरावट र अन्तर्राष्ट्रिय वातावरण केही सहज भएको जनाउँदै युरो क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको प्रक्षेपण बढाएको हो ।

यसअघि आर्थिक वृद्धिदर ०.५ प्रतिशत रहने अनुमान गरिएकोमा संशोधन गरी  १.० प्रतिशत पुर्‍याइएको छ । ईसीबीका अधिकारीहरूले सन् २०२४ र २०२५ मा युरो क्षेत्रको आर्थिक वृद्धिदर १.६ प्रतिशत पुग्ने अपेक्षा गरेका छन् । सन् २०२४ र २०२५ को प्रक्षेपण भने १.९ प्रतिशत र १.८ प्रतिशतले अनुमान गरेभन्दा कम हो ।

यसैबीच, युरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लेगार्डले ऊर्जाको उच्च मूल्यसँग जुध्नका लागि सरकारले चालेका कदम चाँडै फिर्ता लिनु महत्वपूर्ण भएको बताएकी छन् । ‘यी उपाय तुरुन्तै र ठोस रूपमा फिर्ता लिन सुरु गर्नु महत्वपूर्ण छ,’ उनले भनिन्, ‘नत्र यसले मुद्रास्फीति बढाउन मद्दत गर्नेछ ।’


क्लिकमान्डु