अलैंची उत्पादनमा पहिलो स्थानमा रहेको नेपाललाई विश्व बजारमा पुर्‍याउन भारतकै भर



काठमाडौं । विश्वमा अलैंची उत्पादनमा पहिलो स्थानमा रहे पनि मुख्य बजारमा भने भारत नै बनेको छ । विश्वबजारमा अलैंची उत्पादनमा ५२ प्रतिशत हिस्सा ओगटेको नेपाल बजारका लागि सधैँ भारतमा भर पर्नुपर्ने अवस्था छ ।

विश्वमा नेपालपछि भारतले अलैंची उत्पादनमा ३७ प्रतिशत हिस्सा ओगटेको छ भने भुटानले ११ प्रतिशत ओगटेको छ । एसियाली मुलुकमध्ये नेपालले आधाभन्दा बढी हिस्सा ओगटेको अवस्थामा नेपालको अलैंची भारतबाहेक अन्य मुलुकमा पुग्न सकेको छैन ।

नेपालको व्यापार घाटा चुलिँदो छ । चुलिँदो व्यापार घाटा कम गर्न अलैंचीको योगदान ठूलो हुनसक्छ । तर, तथ्यांकले त्यस्तो देखाउँदैन ।

नेपालबाट निर्यात हुने कृषि वस्तुमध्ये अलैंची सबैभन्दा बढी निकासी हुँदै आएको छ । नेपालले चालू आर्थिक वर्षको ७ महिनामा ४ अर्ब ८९ करोड ७६ लाख रुपैयाँको ६१ लाख १७ हजार किलो अलैंची निर्यात गरेको छ ।

त्यस्तै, गत वर्ष पनि ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँको ५३ लाख ६७ हजार किलो अलैंची निर्यात भएको थियो । त्यसमध्ये ९९ प्रतिशत भारतमा मात्रै निर्यात भएको छ । त्यसबाहेक यूएईलगायतका केही देशमा १ प्रतिशत निर्यात हुँदै आएको छ ।

नेपालमा ४६ जिल्लामा १५ हजार हेक्टरमा अलैंची उत्पादन हुँदै आएको छ, जहाँ वार्षिक ८ हजार टन हाराहारी अलैंची उत्पादन हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ६६८ हेक्टरमा ८ हजार २८९ टन अलैंची उत्पादन भएको थियो ।

त्यसैगरी, आव २०७६/७७ मा १६ हजार ५६५ हेक्टरमा ९ हजार ५४५ टन र २०७५/७६ मा १५ हजार ५५ हेक्टरमा ७ हजार ९५४ टन अलैंची उत्पादन भएको थियो ।

नेपालमा अलैंची उत्पादन साना‑साना किसानबाट हुँदै आएको छ । सरकारी तथ्यांकअनुसार अलैंचीखेतीमा ८० हजारभन्दा बढी परिवार आबद्ध छन् । पूर्वी क्षेत्रका धेरै किसान अलैंची उत्पादनमा लागेका छन् ।

नेपालमा उत्पादन हुने अलैंचीमध्ये ५ प्रतिशत मात्रै आन्तरिक बजारमा खपत हुन्छ । उत्पादनको ९५ प्रतिशत निर्यात हुँदा पनि अलैंचीको बजारीकरण तथा वैदेशिक व्यापार सम्बन्ध बढाउन नसक्दा नेपालले भन्दा भारतले उच्च लाभ लिँदै आएको छ ।

पाँच वर्ष अघिसम्म भारतमा निकै काम मात्र अलैंची उत्पादन हुन्थ्यो । फलतः नेपाली किसानले उत्पादन गर्दै आएको अलैंचीले उच्च मूल्य पाउँथ्यो । तर, पछिल्ला वर्षहरुमा भारतले अलैंची उत्पादन बढाएपछि नेपाली किसानले पाउने मूल्य प्रभावित भएको छ ।

कुनै बेला प्रतिकिलो २५ सय रुपैयाँ अर्थात प्रतिमन (४० केजी) को १ लाख रुपैयाँ हाराहारीमा बिक्री हुने अलैंची अहिले प्रतिकिलो ७ सयदेखि ८ सय अर्थात् प्रतिमन २८ हजारदेखि ३२ हजारमा बिक्री गर्न किसान बाध्य छन् । 

नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले भारतीय बजारको आधारमा नेपालको मूल्य तय हुने प्रवृत्तिले मूल्य प्रभावित भएको बताउँछन् । ‘अलैंची निर्यातमा भारतमा पूर्ण निर्भर हुँदा भारतीय बजारको माग र उत्पादनका आधारमा नेपाली अलैंचीको मूल्य तय हुन्छ,’ उनी भन्छन्, ‘भारतमा उत्पादन बढ्दा नेपालीको अलैंचीले बजार पाउन मुस्किल छ । तर, भारतमा कम उत्पादन भएको अवस्थामा माग बढ्न गई अलैंचीको मूल्य केही रुपैयाँले बढ्ने प्रवृत्ति छ ।’

भारतीय बजारका आधारमा नेपाली अलैंचीको मूल्य तय हुँदा किसान विस्थापित हुँदै गएको उनको भनाइ छ । नेपालमा उत्पादन भएको अलैंची निकै गुणस्तरको हुन्छ । जसले गर्दा भारतले नेपालको अलैंची आयात गरी विश्वबजारमा निर्यात गर्दै लाभ लिएको भट्टराई बताउँछन् ।

भारतले नेपालबाट आयात गरेको अलैंचीलाई प्रशोधन तथा प्याकेजिङ गरी साउदी अरब, यूएई, बंगलादेश र पाकिस्तान निर्यात गर्छ । अलैंचीको प्रमुख आयातकर्ता यूएई हो । भारतले यूएईलाई नै लक्षित गरी नेपाली अलैंची आयात गर्ने र प्रशोधनपछि निर्यात गर्ने गरेको छ ।

नेपालले अन्य देशसँग निर्यातमा पहल गर्न नसक्दा पर्याप्त लाभा लिन नसकिएको भट्टराईको भनाइ छ । ‘सरकारले अलैंची निर्यात हुने सम्भावित देशसँग सहकार्य गरी निर्यात सहज बनाउने हो भने नेपालले बढी लाभ लिनसक्छ,’ उनले भने ।

साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)का कार्यकारी अध्यक्ष एवं व्यापार विज्ञ डा. पोषराज पाण्डे भारतले नेपालको वस्तु आयात गरेर तेस्रो मुलुकमा गरी राम्रो लाभ लिइरहेको बताउँछन् । उनका अनुसार भारतले नेपालबाट सस्तो मूल्यमा खरिद गरेर प्रशोधन तथा प्याकेजिङ गरी तेस्रो मुलुकमा आफ्नो उत्पादन भन्दै बिक्री गर्दै आएको छ ।

नेपालले पनि भारतबाहेक अन्य देशमा निर्यातका लागि प्रशोधन, प्याकेजिङ र व्यावसायिक सहजीकरणमा ध्यान दिने हो भने भारतमा बिक्री गर्ने मूल्यको तुलनामा बढी फाइदा लिन सक्ने उनको भनाइ छ । त्यसका लागि निजी क्षेत्र र सरकारले संयुक्त रुपमा वैदेशिक व्यापारको दायरा बढाउन आवश्यक रहेको डा. पाण्डे बताउँछन ।

सरकारले पहल गर्ने हो भने साउदी अरब, यूएई, बंगलादेश, सिंगापुर र पाकिस्तान नेपाली अलैंचीको मुख्य बजार हुन सक्छन् । भारतपछि बंगलादेश अर्को निर्यातक मुलुक बन्न सक्छ ।

बंगलादेशले भुटानबाट फ्रि ट्रेड एग्रिमेन्टमार्फत शून्य भन्सार महसुलमा अलैंची आयात गर्दै आएको छ । नेपालले बंगलादेशमा साफ्टामार्फत ५ प्रतिशतमा निर्यात गर्न सक्नुपर्ने हो । तर, नेपालबाट निर्यात हुने अलैंचीमा बंगलादेशले ३५ प्रतिशत कर तोकेको छ ।

त्यस्तै, नेपालमा अलैंचीको उत्पादकत्व बढाउन अध्ययन तथा अनुसन्धान पनि हुन सकेको छैन । सरकारले किसानलाई प्रोत्साहन गर्न अनुदान तथा बीउविजनको व्यवस्था गर्न नसक्दा उत्पादन खस्किँदै गएको छ ।

अलैंची उत्पादन क्षेत्रको हव कोशी प्रदेश

नेपालका ४६ भन्दा बढी जिल्लामा अलैंचीखेती हुन्छ । तर, कोशी प्रदेश उत्पादनको हव हो । सरकारी तथ्यांकअनुसार कोशी प्रदेशका १४ जिल्लामा अलैंची उत्पादन ठूलो परिमाणमा हुन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा देशभर ८ हजार टन अलैंची उत्पादन हुँदा ७ हजार टनभन्दा बढी कोशी प्रदेशमा उत्पादन भएको थियो । कोशीमा पनि सबैभन्दा बढी ताप्लेजुङमा उत्पादन हुँदै आएको छ । आव २०७७/७८ मा ताप्लेजुङमा मात्रै करिब ३ हजार टन अलैंची उत्पादन भएको थियो ।

त्यसपछि पाँचथरमा ११ सय ९६ टन, संखुवासभामा ९१७ टन, इलाममा ८५० टन, खोटाङमा ७८७ टन र तेह्रथुममा ३०४ टन अलैंची उत्पादन भएको थियो । त्यसबाहेक कोशी प्रदेशका अन्य जिल्लामा १ देखि ३ सय टन उत्पादन गरेको थियो ।

त्यसबाहेक बागमती प्रदेशमा ३२८ टन, गण्डकीमा ३१३ टन, लुम्बिनीमा ११३ टन, कर्णालीमा ५३ टन र सुदूरपश्चिम प्रदेशमा ८ टन अलैंची उत्पादन भएको थियो ।


अरिष्मा मोक्तान