तुलसी सहकारीका ८ जना सञ्चालकलाई ठगी मुद्दा



विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालकहरुलाई प्रहरीले ठगी मुद्दा चलाएको छ । सहकारीमा राखेको सर्वसाधारणको वचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले उनीहरूविरुद्ध ठगी मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङमार्फत सञ्चालक र कर्मचारी गरी आठ जनाविरुद्ध ठगीमा मुद्दा दर्ता गरिएको छ । सर्वसाधारणबाट उठाएको ठूलो वचत रकम हिनामिना गरेको यस सहकारीले रकम फिर्ता गर्न माग गर्दा नसकेपछि सञ्चालकहरू विरुद्ध ठगी मुद्दा दर्ता गरिएको हो ।

सहकारीका सञ्चालकले बचतकर्ताको रकम निजी ब्यवसायमा लगानी गरेकाले सर्वसाधारणको बचत अन्योलमा परेको छ । बचतकर्ताले आन्दोलन थालेपछि केही सञ्चालक पक्राउ परेका छन् भने केही फरार छन् । विराटनगरमा मुख्य कार्यालय रहेको सहकारीका झापा र उदयपुरमा पनि शाखा छन् ।

तीन वटै जिल्लामा सर्वसाधारणले गरेको बचतको रकम फिर्ताको माग बढेपछि सहकारीका अध्यक्ष केदारनाथ शर्मा सम्पर्कविहीन भएका थिए । उनी भारतमा लुकेर बसेको प्रहरीको भनाइ छ । उपाध्यक्ष अनिता गौतम र सचिव सबिता न्यौपानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो । सो मुद्दाको म्याद सकिएकाले २४ दिनपछि उनीहरूविरुद्ध ठगीमा मुद्दा चलाइएको प्रहरी जिल्ला प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले बताए ।

त्यस्तै सहकारीका कार्यसमिति सदस्यहरु बन्टी अधिकारी, निर्मला भट्टराई र छविलाल विश्वकर्मा, सम्पर्कबिहीन छन् । सदस्य आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दीप खवास र प्रबन्धक सुरुची पोखरेल स्थानीय प्रशासनको सम्पर्कमै रहेको बताइएको छ ।

हालसम्म सो सहकारीबिरुद्ध १३ जनाको जाहेरी परेको छ । उनीहरुले १ करोड २४ लाख रुपैयाँ बचतको रकम नपाएको दाबी गरेका छन् । एक महिनादेखि बन्द रहेको सहकारीका सबै बचतकर्ताले रकम फिर्ताको माग गर्दा एक अर्ब रुपैंयाभन्दा बढी अनुमान गरिएको छ ।

मोरङ प्रहरीका अनुसार, सुरुमा १३ जनाले उजुरी दिएपनि बचतकर्ताहरु रकम फिर्ताको माग गर्दै दैनिक सयभन्दा बढीले प्रहरीमा निवेदन दिने गरेका छन् ।

सो सहकारीको बचत तथा हिनामिना गरिएको रकमका बारेमा अनुसन्धान गर्न मोरङ प्रहरीले प्रदेश प्रहरीको अनुसन्धान समूह, प्रधान कार्यालयको अपराध अनुसन्धान समूह, सीआईबी लगायतसँग सहयोग लिएको बताइएको छ । प्रहरीले सहकारी विभागबाट पनि अनुसन्धानका लागि सहयोग लिएको जनाएको छ ।

सहकारीले १५ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा सर्वसाधारणलाई बचत गर्न लगाउने गरेको थियो । विश्वासमा परेका सर्वसाधारणले बढी ब्याज पाउने आशामा एकै जनाले ७० लाख रुपैयाँसम्म बचत गरेको पाइएको छ ।

बचत गर्ने खाताको प्रकार अनुसार भाखा पूरा भएको वर्ष दिनसम्म पनि सावाँ र ब्याज नपाएपछि सर्वसाधारण आन्दोलनमा उत्रिएका थिए । तत्पश्चात प्रहरीले दुई जना सञ्चालकहरूलाई पक्राउ गरेको थियो ।

सो सहकारीको मोरङमा मात्र पाँच हजार वचतकर्ताहरू रहेको बताइएको छ । ती वचतकर्ताहरूबाट ६६ करोड रुपैयाँ वचत संकलन गरेको सार्वजनिक गरिएको छ ।

विराटनगरबाहेक झापा, उदयपुर र सिरहा जिल्ला सो सहकारीका शाखा कार्यालयहरू रहेका छन् । विराटनगरसहित ती सबै शाखा कार्यालयहरूमार्फत १ अर्ब ४५ करोड रुपैयाँ सर्वसाधारणबाट वचत संकलन गरिएको बताइएको छ ।


क्लिकमान्डु