तुलसी सहकारीका अध्यक्ष भारतमा, बचतकर्ताको रकम पनि भारतमा लगानी



विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा भएको खुलासा भएको छ । बचतकर्ताको करोडौं रकम चुक्ता गर्न नसकेर सम्पर्कविहीन भएका उनी भारतमा रहेको खुलासा भएको हो ।

बचतकर्ताले रकम माग गरेपछि उनले समयमा भुक्तानी गर्न सकेनन् । त्यसपछि बचतकर्ता प्रहरी प्रशासन गुहार्न पुगे । उनीहरुले अध्यक्ष शर्माविरुद्ध मोरङ प्रशासनमा रकम उपलब्ध गराइदिन माग गर्दै उजुरी दिए । बचतकर्ताको उजुरीपछि मोरङ प्रशासनले अध्यक्ष शर्मालाई सम्पर्कमा आउन आग्रह गर्‍यो ।

अध्यक्ष शर्मा मोरङ प्रशासनको सम्पर्कमा आए । मोरङ प्रशासनको रोहवरमा जिल्ला प्रशासन कार्यालयमा बचतकर्ता र अध्यक्ष शर्माबीच रकम फिर्तासम्बन्धी सम्झौता भयो । एक हप्ताभित्र सहकारीले सबै बचतकर्ताको रकम फिर्ता गर्ने सहमतिपत्रमा हस्ताक्षर भयो ।

तर, हस्ताक्षर सम्झौता गरेको केही दिनभित्रै अध्यक्ष शर्मा सम्पर्कविहीन भए । उनी सम्पर्कविहीन भएको बचतकर्ताले सुइँको पाए । त्यसपछि उनीहरुले जिल्ला प्रशासन कार्यालयमा सहमतिअनुसार रकम फिर्ता नपाएको भन्दै पुनः उजुरी गरे । प्रशासनले तत्काल शर्माको खोजी तीव्र पार्‍यो तर उनी सम्पर्कमा आएनन् ।

तत्पश्चात बचतकर्ताले सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेको घर घेराउ गरे । प्रहरीले उपाध्यक्ष गौतम र सचिव न्यौपानेलाई शान्ति सुरक्षाका लागि भन्दै नियन्त्रणमा लियो ।

नियन्त्रणपछि बचतकर्ता रकम फिर्ता हुन्छ भनेर आश्वस्त भए । तर, उपाध्यक्ष गौतम र सचिव न्यौपानेले पक्राउ गरेर आफूहरुको बेइज्जत भएको भन्दै प्रहरीलाई नै गालीगलौज गरे । लगत्तै प्रहरीले उनीहरुविरुद्ध दुर्व्यवहार मुद्दा चलाएको छ ।

त्यसपछि उपाध्यक्ष गौतम र सचिव न्यौपानेका आफन्तले अध्यक्ष शर्माका आफन्तलाई उनीहरुलाई छुटाउन दबाब सिर्जना गरे । चर्को दबाबपछि अध्यक्ष शर्माले आफू भारतमा रहेको रहस्य खोलेका थिए । त्यस क्रममा उनले प्रहरीसँग छिट्टै नेपाल आएर बचतकर्ताको रकम फिर्ता गर्ने जानकारी गराएको स्थानीय प्रहरी प्रशासनकका अधिकारीहरुले पुष्टि गरेका छन् ।

सहकारीको पैसा भारतीय कम्पनीमा लगानी

अर्बौंको कारोबार गर्ने तुलसी सहकारीका अध्यक्ष शर्माले सहकारीको पैसा सहकारी ऐन, नियमावली, निर्देशक सिद्धान्त र मापदण्डविपरीत आफ्नै उद्योगमा लगानी गरेको खुलेका छ ।

शर्माले भारतस्थित शिखर अर्गनाइजेसनमा ५१ प्रतिशत लगानी गरेको पाइएको छ । उनले सो कम्पनीको सेयर बिक्री गर्ने र त्यसबाट प्राप्त २ सय ५० करोड भारु यहाँ ल्याउने प्रशासनलाई टेलिफोनमार्फत जानकारी गराएको बताइएको छ ।

सोही रकमबाट सहकारीका बचतकर्ताको रकम फिर्ता दिने उनले मोरङ प्रशासनका अधिकारीलाई विश्वस्त गराएको स्रोतले जनाएको छ । सहकारीमा बचतकर्ताको १ अर्ब ४५ करोड रुपैयाँ रकम जम्मा छ ।

तथापि, सहकारीका सञ्चालक र कतिपय ठूला बचतकर्ताले रकम छानबिनमा अवरोध गरिरहेको आरोप लागेको छ । त्यसो गर्नुको स्वार्थ ती ठूला भनिएका बचतकर्ताले सहकारीमा कतिपय अवैध स्रोतबाट आर्जन भएको पैसा बचत गरेको बताइएको छ । यस विषयमा पनि प्रशासनले सम्बन्धित निकायलाई छानबिन गर्न पत्रचार गरिसकेको बताइएको छ ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पनि सहकारीमा कालोधन लगानी भइरहेको सूचना पाएको बताएकी छन् ।

यसरी बाहिरियो बदमासी

करिब ६ महिनाअघि तुलसी सहकारीको दमकस्थित शाखामा कर्मचारीबीच स्वार्थ नमिल्दा टकराव देखियो । त्यहाँका जुनियर कर्मचारीको दबाबमा परेर दमक शाखाकी कर्मचारी ऋतु थापालाई सहकारीकै मातहतको राइस मिलमा सरुवा गरियो । उनै कर्मचारी थापाले सहकारीमा पैसा नभएको र बचत रकम नरहेकोबारे सार्वजनिक गरिन् ।

त्यस्तै सहकारीको केन्द्रीय कार्यालय विराटनगर–३ स्थित कर्पोरेट अफिसमा सचिव सविना न्यौपानेको नेतृत्वमा कार्यालय सञ्चालन हुने गरेको थियो । उनले माइन्युटमा सबैको आफैं हस्ताक्षर गर्ने, अडिट पनि उनैले गराउने र चेकमा हस्ताक्षर पनि उनैले गर्ने गरेकी थिइन् ।

त्यस क्रममा सहकारीका ७ सञ्चालकमध्ये ५ जना डमी सञ्चालक जस्तो निरीह बनेका थिए । कार्यालयमा प्रायः अध्यक्ष शर्मा र सचिव न्यौपाने मात्र बस्ने गरेको स्रोतले जनाएको छ ।

साढे ४ महिनाअघि पनि सहकारीमा बचतकर्ताको रकम सञ्चित नभएको बारेमा बैठकमा कुरा उठेको थियो । बैठकमा बजारबाट १ अर्ब ४५ करोड रुपैयाँ बचत जम्मा गरेकोमा सहकारीको खातामा १० लाख रुपैयाँ मात्र सञ्चित भएको विषय उठेको थियो । तर, सचिव न्यौपानेले त्यो विषयमा कसैको कुरा नसुनेर बेवास्ता गर्दै बैठकमा छलफलको एजेन्डा नै नबनाई टारेको कर्मचारी बताउँछन् ।

त्यसबेला सहकारीको खाता अध्यक्ष शर्मा, सचिव न्यौपाने र प्रमुख प्रबन्धक मन्दिप खवासको हस्ताक्षरबाट चल्ने गरेको थियो । सहकारीले बचत फिर्ता गर्ने अवस्थामा नरहनुको प्रमुख कारण अन्य क्षेत्रमा गैरकानुनी तथा सहकारी ऐनविपरीत लगानी हो ।

लगानी कहाँ र कति छ ?

सहकारीले शिखर अर्गनाइजेसन ग्रुपअन्तर्गतका नटराज एग्रोमा ६ करोड रुपैयाँ, तुलसी मोटर पम्पमा ३२ करोड रुपैयाँ र तुलसी राइस मिलमा ३५ करोड रुपैयाँ लगानी गरेको बताइन्छ । तर, संस्थाको लेखापरीक्षण रिपोर्टमा ४० लाख मात्रै लगानी देखाइएको छ ।

अध्यक्ष शर्माका ३२ कम्पनी

शिखर अर्गनाइजेसन ग्रुपको अध्यक्ष सहकारीका अध्यक्ष शर्मा नै हुन् । उक्त ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । शर्माकै छोरा काल्स शर्मा ग्रुपको उपाध्यक्ष छन् ।

ग्रुपले तुलसी मोटर पम्प, तुलसी राइस एन्ड च्युरा प्लान्ट, तुलसी कृषि अनुसन्धान केन्द्र, गाईघाट खाँबु, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, गाईघाट, दमक र लेटाङ, नटराज एग्रो प्रालि, गोरर्खा टी एन्ड कफी प्रालिलगायत कम्पनी सञ्चालन गरिरहेको छ । यी उद्योगमा सहकारीको लगानी जम्मा ४० लाख रुपैयाँ देखाइएको छ । यो तथ्यांक सहकारीको अडिट रिपोर्टमा उल्लेख छ ।

सर्वसाधारणले बचत गरेको पैसा अध्यक्ष शर्माले सचिवसँगको मिलेमतोमा ती उद्योगमा लगानी गरेको आशंका गरिएको छ । पानी उद्योग र राइस मिल सहकारीकै स्वामित्वका उद्योग हुन् भने अन्य उद्योग शर्माको एकल स्वामित्वमा छन् ।

सहकारीलाई व्यक्तिको बनाएर चलाएपछि समस्या आएको बचतकर्ताको आरोप छ । विराटनगर शाखामा १५ दिनअघि बचतकर्ताले दबाब दिएपछि सहकारीका कर्मचारी पनि आन्दोलित भएका थिए ।

उनीहरुले सचिव न्यौपानेलाई कम्पनीहरुमा लगानी गरेको पैसा नआउँदा शून्य सञ्चितिमा टेलर चल्न नसक्ने जानकारी गराएका थिए । तर, उनले त्यसबेला कुनै जवाफ नदिएको बताइएको छ ।

बचतकर्ताको यति ठूलो रकम फिर्ता नभई डुब्न लाग्दासम्म सहकारीको अनियमितताबारे सरकारी निकायले आधिकारिक छानबिन गर्न चासो नदेखाएको सरोकारवारलाको भनाइ छ । सहकारीको समस्याको विषयमा त्यहाँ कार्यरत कर्मचारीले सहकारी विभागलाई जानकारी गराएको र त्यही आधारमा विभागबाट  अनुगमन भएको कर्मचारीले बताए ।

सचिवबाट रकम अपचलन

सहकारीका अध्यक्ष शर्मा र सचिव न्यौपानेबीच पहिले अति घनिष्ट सम्बन्ध थियो । कोभिड १९ पछि भने सम्बन्धमा खटपट आएको कर्मचारीहरु बताउँछन् । स्रोतका अनुसार न्यौपानेले सहकारीबाट करोडौं रुपैयाँ झिकेर भाइ सागर न्यौपानेलाई दिएकी थिइन् । सोही रकमबाट उनले बिर्तामोडमा एसमार्ट खोलेकी थिइन् ।

मार्टले सहकारीबाट ८ लाख रुपैयाँ वैधानिक बाटोबाट ऋण लिएको थियो । त्यो रकम अहिलेसम्म फिर्ता नगरेको बताइएको छ । न्यौपानेले एसमार्टमा लगाएको पैसा कुन बाटोबाट गयो भन्ने खोजीको विषय रहेको स्रोत बताउँछ । न्यौपानेले ४५ करोड रुपैयाँभन्दा बढी पैसा अपचलन गरेको आरोप छ ।

त्यही विषयमा शर्मासँग उनको खटपट भएको थियो । अध्यक्ष शर्मा र सचिवको स्वार्थमा फसेको सहकारीले निक्षेपकर्ताको ब्याज भुक्तानी पनि १० महिनामा मात्र गर्ने गरेको र प्रणालीमा सञ्चालन नभएको बचतकर्ता सन्तोष आचार्य बताउँछन् ।

लेखा परीक्षणले देखाएको खोट

तुलसी सहकारी ऐनविपरीत सञ्चालन भएको र त्यसलाई सुधार गर्न लेखा परीक्षण प्रतिवेदनले सुझाएको छ । प्रतिवेदनमा बचत रकम र लगानीकका क्षेत्रमा धेरै त्रुटि कमजोरी रहेको उल्लेख छ । सहकारीको विराटनगर शाखाको आधिकारिक लेखापरीक्षक चार्टर्ड एकाउन्टेन जेएन प्रतिहास्त एन्ड एसोसिएट्सले गरेको छ । गत असार ३१ गतेसम्मको लेखा परीक्षण प्रतिवेदनमा शंकास्पद टिप्पणी गरिएको छ ।

त्यसबेला सहकारीको बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात ३३ करोड २४ लाख ६७ हजार १४४ रुपैयाँ नगद र ३ करोड ७४ लाख १० हजार ८६ रुपैयाँबराबरको सामान रहेको उल्लेख छ ।

संस्थाको सम्पति र दायित्व

संस्थाको कुल सम्पत्ति तथा दायित्व १ अर्ब ४६ करोड ५ लाख १९ हजार ५ सय ७० रुपैयाँ उल्लेख छ । त्यस्तै नाफा ७३ लाख १० हजार ९ सय ६९ रुपैयाँ देखाइएको छ ।

सापटी ३१ करोड

सहकारीको लगानी भने विभिन्न चारवटा संस्थामा ४० लाख ११ हजार रुपैयाँ मात्रै रहेको र कर्जा तथा सापटी रकम ३१ करोड २३ लाख ६० हजार १ सय ८० रुपैयाँ रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । संस्थाको स्थिर सम्पत्ति भने ४ करोड १३ लाख ६३ हजार १ सय ५७ रुपैयाँ रहेको भनिएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले सहकारी संस्थाको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान अनुरुप तयार गर्नुपर्ने प्रावधान राखेको भए पनि तुलसी सहकारी संस्थाको वित्तीय विवरण त्यसअनुसार नभएको रिपोर्टमा उल्लेख छ । यस्तै सहकारीले सदस्यहरुसँग बढीमा ३ वर्षसम्मको बचत निक्षेप मात्र संकलन गर्न पाउनेमा ३ वर्षभन्दा बढी अवधिको सुपर रिक्युरिङ र डबल स्किम बचत संकलन गरेको उल्लेख छ ।

कर्जा तथा सापटीमा संस्थाको सञ्चालक समिति, लेखा समिति र ऋण उपसमितिका पदाधिकारीले लिएको ऋणको विवरण सहकारी कार्यालयमा पेस नगरेको, पुँजीकोषको १० प्रतिशतभन्दा बढी पनि एउटै सदस्यलाई ऋण प्रवाह गरिएको र संघ संस्थालाई ऋण प्रदान गरेको टिप्पणीमा गरिएको छ ।

विवादित बनेको सहकारीको सबै कार्यालय र डिपार्टमेन्ट स्टोर अहिले बन्द छन् । सहकारीको विराटनगरमा मात्रै ५ हजारभन्दा बढी बचतकर्ता रहेको बताइन्छ । विराटनगरबाट करिब ६६ करोड रुपैयाँ बचत जम्मा भएको सहकारीका कर्मचारी बताउँछन् ।

सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा पनि शाखा कार्यालय छन् । ती सबैतिर गरी सहकारीको बचत १ अर्ब ४५ करोड रुपैयाँ रहेको बताइन्छ । त्यस्तै सहकारीले ४८ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने सहकारीको सेयर पुँजी १० करोड रुपैयाँ छ ।


क्लिकमान्डु