उन्नति कल्चरल भिलेजमा ‘उन्नति मेला’
नवलपुर । नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘उन्नति मेला’ आयोजना गरेको छ ।
भिलेजको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार उक्त कार्यक्रम आयोजना गरिएको हो । विशेषगरी नवलपुर र चितवनका महिला लघु उद्यमी र युवा उद्यमीलाई सहयोग एवं र सशक्तीकरण गर्न भिलेजको यो एकदिने मेला आयोजना गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि थिए, नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, विशेष अतिथिका रुपमा गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला सहभागी थिए ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी लम्सालले चौधरी फाउन्डेसनअन्तर्गत उन्नति कल्चरल भिलेजले कला संस्कृतिलगायतको प्रवद्र्धन एवम् विकासमा पुर्याएको योगदानबारे प्रशंसा गरे ।
कला–संस्कृतिको संरक्षण र विकासले देशको समग्र विशेषतालाई झल्काउने र यिनका माध्यमबाट नेपालले विश्वसामु नयाँ परिचय स्थापित गर्न सक्ने उनको भनाइ छ ।
साथै गैंडाकोट नगरपालिका उपमेयर कोइरालाले उन्नति कल्चरल भिलेजले लोप हुन लागेको थारु समुदायको आफ्नो कला संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको बताइन् । र नारी सशक्तीकरणमा भिलेजले पुर्याएको योगदानबारे पनि उनले प्रशंसा गरिन् ।
मेलामा डिजिटल एन्ड मोबाइल बैंकिङ वर्कसप, डिजिटल मार्केटिङ एन्ड ई–कमर्स ट्रेनिङ, नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन–एयर म्युजियम उद्घाटनलगायत विभिन्न गतिविधि प्रदर्शन गरियो ।
मेलामा नबिल बैंकका कावासोती शाखा प्रबन्धक मञ्जिल दुलालले डिजिटल तथा मोबाइल बैंकिङ कार्यशालाको सहजीकरण गरे।
कार्यशाला विशेषगरी वित्तीय साक्षरतामा केन्द्रित रह्यो । अनलाइन वित्तीय सेवा, डिजिटल बैंकिङ एप, तिबाट पाइने सुविधा, भुक्तानी पोर्टल र यसका फाइदा लगायतका विषयमा उनले कार्यशालामा सहभागीहरुलाई सुसूचित गरे ।
स्थानीय महिला लघु उद्यमी र महिला समूहहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वित्तीय समावेशीकरणमा सहभागी हुन कार्यशालाले सहयोग पुग्ने विश्वास लिइएको छ ।
यसैगरी मेलामा अश्विन न्यौपानेले डिजिटल मार्केटिङ र ई–कमर्स ट्रेनिङको सहजीकरण गरे । विशेषगरी युवा उद्यमी, मार्केटिङ प्रोफेसनल एवम् बिजनेस स्टार्टअपहरूका लागि लक्ष्य गरी यो कार्यशाला गरिएको हो ।
ट्रेनिङ विशेषगरी सोसल मिडिया मार्केटिङ, सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ), डिजिटल मार्केटिङ, डाटा एनालाईसिस् र ब्रान्ड व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा केन्द्रित थियो ।
मेलाको मुख्य आकर्षणका रुपमा नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन एयर म्युजियम उद्घाटनको गरिएको थियो । नवलपुर रेसिडेन्सी एक्जिबिसनमा विशेषगरी नवलपुर र चितवनको ग्रामीण जीवनको सौन्दर्यलाई प्रस्तुत गरिएको थियो । यो एकमहिने आवासीय कार्यक्रमको प्रतिफल हो, जहाँ छ जना फोटोग्राफर र भिडियोग्राफरले सहभागिता जनाएका थिए ।
ओपन–एयर म्युजियममा चर्चित नेपाली एवम् अन्तर्राष्ट्रिय कलाकारले बनाएका माटो एवं सिसाबाट निर्मित र ढुंगामा कुँदिएका कला प्रदर्शन गरिएको छ ।
उक्त अवसरमा फोटोग्राफी एवं भिडियोग्राफी रेजिडेन्सी र सेरामिक रेजिडेन्सीमा सहभागी कलाकारलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा कलाकारहरु सगुनी शाक्य, रोशन मिश्रलगायतको उपस्थिति थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारी, नायव प्रहरी उपरिक्षक सन्तोष पाठकलगायतको सहभागिता थियो ।
मेलाका अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुबीच आर्ट कम्पिटिसनसमेत गराइएको थियो ।
आर्ट एन्ड क्राफ्टको विकास एवम् प्रवद्र्धन गर्दै नेपाली संस्कारहरुलाई संरक्षण र प्रवद्र्धनमा उन्नति कल्चरल भिलेज प्रतिबद्ध संस्था हो । चौधरी फाउन्डेसनअन्तर्गत सञ्चालित भिलेजले नेपाली कलासंस्कृतिको विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।