‘सेयर बजारमा प्रवेश गर्ने उपयुक्त समय’



काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) इतिहासकै सर्वाधिक उचाइ मा पुगेका दिन २०७८ भदौ २ गते नबिल बैंकको प्रतिकित्ता सेयर मूल्य १४९५ रुपैयाँ थियो । बिहीबार २०७९ फागुन २५  गते नेप्से ३८ प्रतिशतले घट्दा नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ६४७ रुपैयाँमा झरेको छ । बजार ओरालो लाग्न थालेयताका १८ महिनामा नबिलको सेयर मूल्य ५६ प्रतिशतले घटेको हो । गत वर्षको नाफबाट नबिल बैंकले ३० प्रतिशत लाभांश बाँडेको छ ।

अरु केही कम्पनीका उदाहरण हेरौं-

१८ महिनामा नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १८८२ बाट ६८२ रुपैयाँमा झरेको छ । यो ६३ प्रतिशतको गिरावट हो । अघिल्लो वर्षको नाफबाट १५ प्रतिशत लाभांश बाँडेको कम्पनीले गत वर्ष नाफा बाँडेको छैन ।

हिमालयन डिस्टिलरीको मूल्य पनि १८ महिनामा ७५३५ बाट २०९४ रुपैयाँमा झरेको छ । कम्पनीको मूल्य १८ महिनामा ७२ प्रतिशतले ओरालो लागेको हो । गत वर्षको नाफाबाट कम्पनीले ७० प्रतिशत लाभांश बाँडेको थियो ।

त्यस्तै सबैको लघुवित्तको प्रतिकित्ता सेयर मूल्य २०८२ बाट ६८५ रुपैयाँमा, शिखर इन्स्योरेन्सको १९७९ बाट ७२९ रुपैयाँमा, साल्ट ट्रेडिङको ९८७० बाट ४३३५ रुपैयाँमा, माथिल्लो तामाकोसीको ८०४ बाट ४७५ रुपैयाँमा, शिवम् सिमेन्टको १७९३ बाट ४५५ रुपैयाँमा, सिन्धु विकास बैंकको ५९३ बाट २७५ रुपैयाँमा र मञ्जुश्री फाइनान्सको १३७० बाट ४४६ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा सबैको लघुवित्तको ६६ प्रतिशत, शिखरको ६३ प्रतिशत, साल्ट ट्रेडिङको ५६ प्रतिशत, माथिल्लो तामाकोसी ४१ प्रतिशत, शिवम् सिमेन्ट ७४ प्रतिशत, सिन्धु ४४ प्रतिशत र मञ्जुश्रीको सेयर मूल्य ६७ प्रतिशतले घटेको हो ।

गत वर्षको नाफाबाट सबैको लघुवित्तले १८ प्रतिशत, शिखर इन्स्योरेन्सले १६ प्रतिशत, साल्ट ट्रेडिङले १५ प्रतिशत, शिवम् सिमेन्टले १० प्रतिशत र सिन्धु विकास बैंकले ११ प्रतिशत लाभांश बाँडेका छन् । अघिल्लो वर्षको नाफाबाट ४६ प्रतिशत लाभांश बाँडेको मञ्जुश्री फाइनान्सले गत वर्ष भने लगानीकर्तालाई निराश बनाएको थियो । माथिल्लो तामाकोसीले कम्पनीले अहिलेसम्म लगानीकर्तालाई लाभांश दिन सकेको छैन ।

माथि उल्लिखित कम्पनीका सेयर मूल्य नेप्से उच्च विन्दुमा भएको दिनमा भन्दा केही अघि अझै धेरै रहेको तथ्यांकले देखाउँछ । नेप्से परिसूचकको उच्च विन्दुलाई यहाँ अध्ययनको आधार बनाइएको  मात्र हो ।

सेयर बजार उच्च बन्दै गरेका बेला २०७८ साउन २१ गते हालसम्मकै ठूलो परिमाण अर्थात् २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसबेला दैनिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार धेरै दिन भए । नेप्से सर्वाधिक उचाइमा पुगेका दिन पनि २१ अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । बजार पुँजीकरण ४४ खर्ब रुपैयाँभन्दा माथि पुगेको थियो ।

सेयर बजारमा बिहीबार १ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ भने कुल बजार पुँजीकरण २९ खर्बमा झरेको छ । यसको अर्थ डेढ वर्षको अवधिमा लगानीकर्ताले १५ खर्ब रुपैयाँ गुमाएका छन् ।

यी तथ्यांकहरुले सेयर बजार सुस्ताएको स्पष्ट गर्छन् । सेयर बजार र ब्याजदरबीच विपरीत सम्बन्ध हुन्छ । अहिले ब्याजदर उच्च हुँदाको प्रभावमा बजार परेको छ । लगानीकर्ता अन्योलमा छन् । डेढ वर्षदेखि लगातार बढेको ब्याजदरले लगानीकर्ता थला परेका छन् ।

तर, बिहीबार सेयर बजारले फरक संकेत गरेको छ । नेपाल बैंकर संघले ब्याजदरमा प्रिमियमको अधिकतम सीमा चैतदेखि लागू हुने गरी ६ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने निर्णय लियो । ब्याज घटाउन यसले खासै फरक पार्दैन ।

साथै, संघले कल डिपोजिटको ब्याजदर ०.२१ प्रतिशत र बचतको ब्याजदर ०.४२ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको छ । कुल निक्षेपमा बचत खातामा भएको निक्षेपको हिस्सा २६ प्रतिशत भएकाले बचतमा ब्याजदर घटाउने निर्णयले आधार दर र कर्जाको ब्याजदर घट्छ ।

उच्च ब्याजदरका कारण पुसदेखि वाणिज्य बैंकहरुको कर्जा प्रवाह दर पनि घट्दै गएको छ । गत वर्षको पुसमा सीडी रेसियोको ८९.९९ प्रतिशतसम्म कर्जा प्रवाह गरेका बैंकहरु अहिले ८६ प्रतिशत हाराहारीको स्थितिमा छन् ।

बैंकहरुसँग करिब २ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । लगानीयोग्य रकम थुप्रिँदै जाँदा स्वाभाविक रुपमै ब्याजदर घट्दै जान्छ । यी तथ्यांकले सेयर बजारका लागि सकारात्मक सन्देश दिन्छन् ।

इन्भेस्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियार बजार प्रवेश गर्न अहिले उपयुक्त समय भएको बताउँछन् । ‘विभिन्न घटनाक्रमले अब लगातार ब्याजदर घट्दै जाने देखाएको छ,’ उनी भन्छन्, ‘ब्याजदर घट्दै जानुले सेयर बजार अनुकूल बन्दै जाने संकेत गर्छ ।’

तर, अहिले आफूसँग भएको पैसा ढुक्कले लगानी गर्न सकिए पनि कर्जा लिएर भने पोर्टफोलियोको ३० प्रतिशतभन्दा बढी लगानी गर्ने बेला नभइसकेको उनको बुझाइ छ । ‘कम्पनीको मूल्य निकै तल झरेकाले जोखिम पनि निकै नै कम छ,’ अध्यक्ष रौनियार भन्छन्, ‘लगानीकर्ताले बुझ्ने हो भने बजार प्रवेश गर्ने उपयुक्त समय यही हो ।’

बैंकर संघले ब्याजदर घटाउने गरी केही निर्णय लिएपछि बिहीबार नेप्से परिसूचक ५० अंकले बढेको छ । यसले लगानीकर्तामा केही उत्साहित बनेको संकेत गर्छ ।

सेयर बजार घटबढ हुनु सामान्य कुरा हो । तर, बजार बढेर माथि पुगेपछि हौसिएर प्रवेश गर्ने र घटेर तल पुगेका बेला डराएर बस्नेहरुले सधैं नोक्सानी व्यहोरेको पाइन्छ ।

‘कम्पनीको सेयर मूल्य न्यून भएका बेला लगानीकर्ता डराउँछन्, बजार प्रवेश गर्दैनन्,’ सेयर बजार विश्लेषक रविन्द्र भट्टराई भन्छन्, ‘जब बजार बढेर माथि पुग्छ, कम्पनीको मूल्य पनि माथि-माथि पुग्छ, बजार धेरै माथि पुग्छ रे भन्ने खालका हल्ला चलाइन्छन् अनि बजार प्रवेश गर्नेको घुइँचो लाग्छ ।’

सेयर बजारमा घटेको बेला प्रवेश गर्ने र बढेको बेला निस्किन जान्नेले बढी कमाउने उनले बताए । ‘राम्रा कम्पनीमा दीर्घकालीन लगानी गर्नेले झन् धेरै कमाउँछ,’ उनी भन्छन्, ‘लगानीकर्ताले राम्रा कम्पनी चिनेर छानी-छानी किन्ने र होल्ड गर्न सक्ने हो भने लगानीका लागि यो उपयुक्त अवसर हो ।’

बजार घटेर तल झरेका बेला नयाँ लगानीकर्ताका लागि पनि प्रवेशको उपयुक्त समय भएको विश्लेषकहरु बताउँछन् । ‘तर अधिकांश नयाँ लगानीकर्ता पनि बजार उच्च बन्दै गएपछि प्रवेश गर्न थाल्छन् र गुमाउँछन्,’ रौनियार भन्छन् ।

भदौ २ गते नेप्से ३२१८.८६ विन्दुसम्म पुगेको थियो । यो नै नेपालको इतिहासमा सर्वाधिक उचाइमा पुगेको नेप्से परिसूचक हो । कारोबार बन्द हुँदा नेप्से ३१९८.६ अंकमा कायम रह्यो ।


डीआर आचार्य