सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी नगर्दा समस्या: श्रेष्ठ
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले सहकारीको पैसा घर, जग्गा र सेयर बजारमा लगानी हुँदा समस्या बढ्दै गएको बताएका छन् ।
घर जग्गा कारोबार र सेयर बजारमा गिरावट आउँदा सहकारीमा पनि समस्या आएको उनको भनाइ छ ।
सहकारी संस्थाहरुले उत्पादन तथा कृषिजन्य उत्पादनमा लगानी गर्नुपर्नेमा घरजग्गा, सेयर बजारमा लगानी बढेको बताए ।
सहकारी संस्थाहरुले गर्ने लगानी उत्पादनमा जानु पर्ने उनको भनाइ छ ।
‘आत्मनिर्भर हुन सहकारीले सघाउनुपथ्र्यो, त्यस्तो भएन, अर्थतन्त्रमा सहकारीको परिणाम देखिएन’ उनले भने ।
सहकारीले बैंकभन्दा कम ब्याज लिनुपर्ने भए पनि व्यवहारमा बढी भएको उनले बताए ।
निक्षेपको वृद्धिदर बढेको तर कर्जाको वृद्धिदर घटेको उनको भनाइ छ । वित्तीय क्षेत्रमा असर पर्दा सहकारीलाई असर पर्ने तर्फ ध्यान दिन उनले आग्रह गरे।
सहकारीमा सम्पत्ति भए पनि लिक्वीटी नहुँदा समस्या भएको उनको भनाइ छ । अर्थतन्त्रमा सहकारीको गतिलो प्रभाव नपरेको उनले बताए ।
स्वनियमन नभएकाले सहकारीमा नियमन अत्यावश्यक भएकाले केही ऐन संशोधनमार्फत नियमनको चर्चा चलेको श्रेष्ठले बताए।
नेफ्स्कुनले आयोजना गरेको प्रमुख कार्यकारी अधिकृतहरुको सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै श्रेष्ठले पोस्ट कोभिडले प्रभावित बनेको अर्थतन्त्र सुधार भए पनि रसिया युक्रेनको युद्धले मारमा परेको बताए ।