उद्योग वाणिज्य महासंघको नेतृत्व ठूला व्यापारिक घरानाभन्दा बाहिर हुनुपर्छ: चण्डिराज ढकाल



इटहरी । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्व ठ‍ूला व्यापारिक घरानाबाट हुन नहुने बताएका छन् ।

बुधबार सुनसरीको इटहरी उद्योग वाणिज्य संघको पदस्थापन कार्यक्रममा ढकालले महासंघको नेतृत्व ठूला व्यापारिक घरानाबाट हुँदा आफ्नो व्यापारिक घरानाको कामको चापले पनि व्यावसायीको हितमा काम गर्न असहज हुने बताए । उनले दक्ष, पढेलेखेको तर व्यापारीको लागि काम गर्न सक्ने व्यत्ति नेतृत्वमा जानुपर्ने तर्क गरे ।

सार्क व्यापार संघका सदस्यसमेत रहेका ढकालले उद्योग वाणिज्य महासंघको पछिल्लो गतिविधिले व्यावसायीलाई अभिभावकविहीन भएको महसुस गराएको बताए ।

देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भएको भन्दै ढकालले राजनीतिक अस्थिरता, भूकम्प, कोरोना महामारी जस्ता समस्याले अर्थतन्त्रलाई थप अस्थिर बनाएको उल्लेख गरे ।

२३ वर्षदेखि देशको अर्थतन्त्र असरल्ल अवस्थाबाट गुज्रिएको बताउँदै उनले विदेशी दातृ निकायको सहयोग रोकिएको खण्डमा देश श्रीलंकाको अवस्थामा पुग्ने जिकिर गरे ।

८ प्रतिशतमा लिएको ऋणको व्याज १८ प्रतिशत हुँदासमेत राज्यका निकायहरु व्यावसायीलाई परेको समस्याको बारेमा बुझ्न तयार नभएको भन्दै उनले अबको नेतृत्वले माथिको अपेक्षा नगरि काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य टंक दुलालले उद्योग वाणिज्य संघले सचिवालयलाई व्यवस्थित बनाउनु पर्ने धारणा राखे ।

उनले उद्योग वाणिज्य संघले पछिल्लो समय व्यवसायीक ट्रयाक छाडेको हो कि भन्ने आशंका उब्जिएको भन्दै उद्योग क्षेत्रमा भएका समस्या र उद्योगहरु पलायन हुनाको जरो पत्ता लगाउन आवश्यक रहेको बताए ।

इटहरी उद्योग वाणिज्य संघका नव निर्बाचित अध्यक्ष जीवन पराजुलीले आफ्नो कार्यकालको पहिलो काम बैंकको व्याजदर र इटहरीको पार्किङ्ग व्यवस्थापनतर्फ हुने बताए ।

बुधबार भएको निर्वाचित कार्यकारिणी समितिको पदस्थापन कार्यक्रमपछि अध्यक्ष पराजुलीले इटहरी उद्योग वाणिज्य संघले शहर सौन्दर्यकरणको नाममा भएको पार्किङ निषेधको समस्याले धेरै व्यावसायी आक्रान्त भएको भन्दै त्यसको समाधानका लागि इटहरीको स्थानीय सरकारसँग बसेर समस्याको निराकरण गर्न आफू लागि पर्ने बताए ।

इटहरीमा मेला महोत्सव गर्न स्थान अभाव भएको भन्दै त्यसको समाधानका लागि प्रादेशिक प्रदर्शनी स्थलको निर्माणको पहल गर्ने, इटहरीमा व्यापार प्रवद्र्धनका लागि ट्रेड फेयर तथा बेरोजगारहरुको लागि जव फेयरको आयोजना गर्ने साथै व्यावसायीहरुको लागि नि:शुल्क राजस्व र लेखा सम्बन्धि परामर्श दिने योजना नव निर्वाचित कार्यसमितिले तयार गरेका छन् ।

उद्योग वाणिज्य संघ इटहरीका पूर्वअध्यक्ष भीमबहादुर पौडेलले आफ्नो कार्यकालमा इटहरीको आवश्यकतालाई महशुस गर्दै सार्वजनिक शौचालय हस्तान्तरण गरेको बताए ।


क्लिकमान्डु