एनसेलसँग मुद्दा लड्न परराष्ट्र मन्त्रालयलाई २ करोड ६० लाख रुपैयाँ निकासा
काठमाडौं । सरकारले एनसेलले दायर गरेको मुद्दा लड्न परराष्ट्र मन्त्रालयलाई अर्थ विविध शीर्षकबाट २ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ ।
एक्जियटा (युके) र एनसेल प्रालिले विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आइसीएसआइडि) मा दायर गरेको मुद्दाको प्रतिरक्षा र मध्यस्थथा शुल्क वापतको सेवा शुल्क भुक्तानी गर्ने प्रयोजन नेपाली दूतावास वासिटन, अमेरिकालाई परराष्ट्र मन्त्रालय मार्फत रकम निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
एनसेलले विश्व बैंक समूह अन्तर्गतको आईसीएसआइडिमा नेपाल सरकारले नियम विपरित पूँजी गत लाभ कर असुल गरेको भन्दै मुद्दा दायर गरेको छ ।
नेपाल सरकारले उक्त मुद्दाको प्रतिरक्षा गर्न बेलायतमा रहेका प्राध्यापक सूर्यप्रसाद सुवेदी, अमेरिकी नागरिक फोले होग र वाशिंगटन क्षेत्री एण्ड एसोसिएट्स, न्यूयोर्कलाई छनोट छ ।
नेपालले अन्तर्राष्ट्रिय प्रतिवद्धता विपरित पूँजी गत लाभ कर असुल गरेको भन्दै एनसेलले २०७६ जेठ ६ गते आईसीएसआइडिमा मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दाको सुनुवाइ गर्न आईसीएसआइडिले २०७६ कात्तिक १ गते तीन सदस्यीय न्यायाधीकरण गठन गरेको थियो । कोरियन नागरिक जोंगी किम अध्यक्ष रहेको न्याधीकरणमा डच नागरिक अल्बर्ट–जन भान्डेन बर्ग र अमेरिकी नागरिक पल फ्रिडल्याण्ड सदस्य छन् ।
मुद्दा दायर भएको साढे तीन वर्षमा पनि अन्तिम टुंगो लागेको छैन । गत साउन ३ गते मुद्दाको पछिल्लो सुनुवाइ भएको थियो ।