सहारा नेपाल सहकारीका कार्यकारी प्रमुखको तलब भत्ता १ करोड बढी, सञ्चालकले बुझे करिब आधा करोड भत्ता
काठमाडौं । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कार्यकारी प्रमुखलाई तलब भत्ता बापत १ करोड ७ लाख ११ हजार २९७ रुपैयाँ भुक्तानी गरेको छ।
एक वर्षको अवधिमा कार्यकारी प्रमुखको तलब भत्ता १७.३५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कार्यकारी प्रमुखको तलब भत्ता ९१ लाख २६ हजार ९५१ रुपैयाँ रहेको थियो ।
सहकारीले संस्थाको कर्मचारी प्रशासन नियमावली २०७६ बमोजिम कार्यकारी प्रमुखलाई उक्त तलब भत्ता दिएको जनाएको छ ।
संस्थाले सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुलाई बैठक भत्ता बापत ४८ लाख ६२ हजार ३२३ रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो आवमा ६० लाख ८३ हजार ११५ रुपैयाँ भुक्तानी गरेको छ । सहकारीले अध्यक्षमा हरिबहादुर राजवशी रहेका छन् भने कार्यकारी प्रमुखमा महेन्द्रकुमार गिरी रहेका छन् ।
सहकारीले अध्यक्ष, सन्चालक समितिका पदाधिकारी तथा सदस्यलाई प्रति बैठक भत्ता करसहित ५ हजार ८८२ रुपैयाँ दिएको छ ।
यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक र सदस्यलाई करसहित प्रति बैठक ५ हजार ८८२ रुपैयाँ दिएको छ ।
उपसमिति संयोजकलाई २ हजार ९४१ रुपैयाँ र सदस्यलाई १ हजार ७६४ रुपैयाँ दिएको छ । यो सहकारी झापाको बिर्तामोड-२, चारपानेमा रहेको छ ।