ललितपुर महानगरले गर्यो १० वटा सहकारी संस्थाको इजाजत पत्र खारेज (नामसहित)




ललितपुर । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजत पत्र खारेज गरेको छ ।

महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी समयदेखि लेखापरीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्थाको इजाजत पत्र खारेजी गरेको हो ।

महानगरपालिकाको २९ माघको बैठकले सहकारी संस्थाहरु खारेज गर्ने निर्णय गरको जनाएको छ ।

महानगरका अनुसार सहकारी ऐन, २०७५ को दफा २९ उपदफा (२) बमोजिम संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र बोलाउनु पर्छ । सोही ऐनको दफा ५३ को उपदफा (१) बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले वढीमा ६ महिना भित्र संस्थाको कारोवारको लेखा परिक्षण गराउनु पर्ने तथा दफा ५१ को उपदफा (१) वमोजिम विवरण बुझाउनु पर्ने छ । ५ वर्ष भन्दा वढी अवधिदेखि ऐनको लेखा परिक्षण नगर्ने, साधारण सभा नगर्ने तथा विवरण नबुझाउने सहकारीलाई ऐनको दफा ६६ को उपदफा (३) को खण्ड (क) अनुसार संस्था किन खारेज नगर्ने ? भनी असार १५ गते सूचना जारी गरिएको थियो ।

तोकिएको मिति भित्र संस्थाहरुसँग सम्बन्धित कोही पनि व्यक्ति सम्पर्क राख्न नआएकाले सोही ऐनको दफा ६६ को उपदफा (३) वमोजिम इजाजत खारेज गरिएको हो ।

यी संस्थाहरुले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाणसहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गरी लिनु र अब उप्रान्त उक्त संस्थाहरुको नामबाट कुनै पनि कारोवार नगर्न/नगराउनु हुन समेत जानकारी गराएको छ ।

खारेजी भएका स‍स्ठामा महिला सिप विकास बहुउद्देश्यीय सहकारी संस्था, बडीखेल पर्यटन सहकारी संस्था, प्रयास बहुउद्देश्यीय सहकारी संस्था, एभरग्रीन बचत तथा ऋण सहकारी संस्था, कुसुन्ती बहुउद्देश्यीय सहकारी संस्था, पारपीदेवी महिला विकास बचत तथा ऋण सहकारी संस्था, राजवृक्ष जडिबुटि सहकारी संस्था, एभरेष्ट कृषि सहकारी संस्था र रातो सूर्य सूचना तथा संचार सहकारी संस्था रहेका छन् ।


क्लिकमान्डु