२ करोड रुपैयाँसम्मको कर्जालाई पुनर्तालिकीकरण सुविधा



काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग–व्यवसायीले २ करोडसम्मको कर्जाको पुन:संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले साना तथा मझौता उद्योग व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीको विश्लेषण गरी एकपटकका लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुलउपर गरी कर्जाको पुन:संरचना तथा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरेको छ ।

कर्जाको पुनर्तालिकीकरण वा पुन:संरचना २०८० असार मसान्तभित्र गरिसक्नुपर्नेछ । पुनर्तालिकीकरण वा पुन:संरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ । पुनर्तालिकीकरण वा पुन:संरचना गरिएका कर्जालाई असल वर्गमा वर्गीकरण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।


क्लिकमान्डु