नेपाल टेलिमकले माग्यो विभिन्न पदमा ७३ कर्मचारी
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले विभिन्न पदमा ७३ कर्मचारी माग गरेको छ । कम्पनीले जुनियर टेक्निसियनदेखि उपप्रबन्धक पदका लागि ७३ कर्मचारी माग गरेको हो ।
कम्पनीले उपप्रबन्धक पद अर्थात् ९औं तहमा १ जना कर्मचारी माग गरेको छ । त्यस्तै, कम्पनीले वरिष्ठ इन्जिनियर पदमा २ जना, वरिष्ठ लेखा अधिकृतमा १ जना, टेलिकम इन्जिनियर पद (इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन) मा १० जना, टेलिकम इन्जिनियर (कम्प्युटर) पदमा ५ जना, टेलिमक इन्जिनियर (इलेक्ट्रिकल) पदमा ३ जना र सिभिल इन्जिनियरमा १ जना कर्मचारीको माग गरेको छ ।
त्यसैगरी, कम्पनीले सहायक लेखा अधिकृत पदमा ४ जना, सहायक प्रशासनिक अधिकृत पदमा ३ जना, सहायक व्यापार अधिकृत ४ जना, टेक्निसियन पदमा ११ जना, सहायक पदमा ११ जना र जुनियर टेक्निसियन पदमा १७ जना कर्मचारी माग गरेको छ । कम्पनीले महिला, आदिवासी जनाजाती, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रलाई समावेश गरेर विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
टेलिकमअनुसार योग्यता पुगेका व्यक्तिहरुले आगामी चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
टेलिकमले अधिकृत स्तर तह ८ र ९ तहका लागि ८ सय रुपैयाँ र अधिकृत स्तर ६ र ७ का लागि ७ सय रुपैयाँ आवेदन शुल्क तोकेको छ । त्यसमा अधिकृत स्तरका लागि प्रत्येक समावेशी समूहका लागि २ सय रुपैयाँ थप लाग्नेछ ।
त्यस्तै, सहायक स्तर ४ का लागि ५ सय रुपैयाँ र सहायक स्तर ३ का लागि ३ सय रुपैयाँ आवेदन दस्तुर लाग्नेछ । त्यसमा समावेशी समूहका लाथि थप १ सय रुपैयाँ लाग्नेछ ।