मोबाइल पसल लुटपाट र तोडफोडको क्षतिपूर्ति सरकारले दिनुपर्ने व्यवसायीको माग



काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।

मंगलबार महासंघले नयाँ बसपार्कमा ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमबार गोंगबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरुका माग सम्बोधन नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिए ।

उनले १५ घण्टा हुँदासम्म राज्य घटनाप्रति मौन बस्नु व्यवसायीहरुको पक्षमा सरकार नदेखिएको आरोप लगाए । उनले बसपार्कको ल्होत्से मलको मोबाइल पसलमा भएको लुटपाटको क्षतिपूर्ति आन्दोलनकारी र राज्यले लिनुपर्ने बताए । सरकारले पसल लुटपाट पर्नेहरुको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने उनको माग छ ।

अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । सोमबारको घटनाबाट मुलुकको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने उनले बताए ।

यस घटनाले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश प्रवाह भएको उनले बताए ।

त्यस्तै,महासंघका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८ देखि ९ करोड रुपैयाँबराबरको मोबाइल,पैसा र अन्य सामाग्रीहरु लुटिएको दाबी गरे ।

सरकारले घटनाबाट भएको क्षतिपूर्ति दिने विश्वास रहेको उनको भनाइ छ । सामान्य व्यवसायीहरुले गरिखान समेत ठूलो समस्या आएको भन्दै उनले राज्यले व्यवसायलाई सुरक्षित बनाउन नसकेको आरोप लगाएको छ ।

ल्होत्से मलमा रहेका चालिसेको एसीडीसी मोबाइल पसल र डायमण्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालिमा दुईवटा मोबाइल पसलमा नै लुटपाट भएको उनले बताए । केही चोरहरुलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको उनले बताए ।

त्यस्तै महासंघका महासचिव रमेश घिमिरेले आफ्नो व्यवसाय गरे जीविकोपार्जन गर्ने सुरक्षित वातावरण नभएको बताए । उनले यातायात मजदुरहरुले आन्दोलनको नाममा पसलहरु लुटपाट गर्ने काम भएको भन्दै घटनाको जिम्मा सरकार र आन्दोलनकारी दुवैले लिनुपर्ने बताए ।

सोमबार ल्होत्से मलमा सञ्चालित पसलहरूका सिसा र सटर फोरेर मोबाइल लुटिएको जनाएको महासंघले जनाएको छ । पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् । पसलको सिसिटिभी फुटेजसमेत सार्वजनिक भएको छ । महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने भएको छ ।


क्लिकमान्डु