विदेशिनेको संख्या बढ्दा रेमिट्यान्समा नयाँ रेकर्ड, मलेसियामात्रै डेढ लाख बढी पुगे



काठमाडौं । कोभिडपछि रोजगारीको खोजीमा विदेशिनेको संख्या बढ्दो क्रममा छ । कोभिडले गर्दा निकै प्रभाव परेको वैदेशिक रोजगारी कोभिडपछि ह्वात्तै बढेको छ ।

सरकारी तथ्याङ्कअनुसार कोभिडपछि अर्थात् गत वर्ष ६ लाख बढी नेपाली रोजगारीमा खोजीमा विभिन्न देशमा पुगेको जनाएको छ । त्यस्तै, चालु आर्थिक वर्षमा पनि विदेशिनेको संख्या बढ्दो क्रममा छ । सरकारले युवाहरुलाई उपयुक्त रोजगारी दिन नसक्दा दैनिक २ हजारदेखि ३ हजार बढी विदेशिएको तथ्याङ्क छ ।

त्यस्तै, चालु आर्थिक वर्षको ६ महिनाको अवधिमै ४ लाख बढी नेपाली रोजगारीको खोजीमा विश्वको ११५ वटाभन्दा बढी देशमा पुगेका छन् । सरकारले विश्वको १११ वटा देशका लागि श्रम स्वीकृति खुल्ला गरेको छ । तर, नेपालीहरु १११ वटाभन्दा बढी देशमा पनि गएको देखिन्छ ।

वैदेशिक विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ लाख १८ हजार नेपाली विदेशिएको देखाउँछ । विभागअनुसार संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिई २ लाख ७५ हजार ६४३ जना नेपाली विदेशिएका छन् भने १ लाख ४२ हजार ५४८ जना पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् ।

गत वर्षको सोही अवधिमा नेपालबाट संस्थागत, व्यक्तिगत नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिई २ लाख ९७ जार ७२५ जना मात्रै विदेशिएका थिए ।

गत वर्ष १ लाख ६७ हजार ५१३ जना नयाँ श्रम स्वीकृति लिई विदेशिएका थिए भने १ लाख ३० हजार २१२ जना पुनः श्रम स्वीकृति लिई विदेशिएका थिए ।

चालु आर्थिक वर्षको सुरुदेखि नै रोजगारीको खोजीमा दैनिक २५ को हाराहारीमा विदेशिएको पाइन्छ । विभागको तथ्याङ्कअनुसार गत साउनमा नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति गरी ६३ हजार ३९ जना विदेशिएका थिए ।

त्यस्तै, भदौमा ७६ हजार ४०३ जना, असोजमा ६२ हजार ७०६ जना, कात्तिकमा ७८ हजार ३७० जना, मंसिरमा ६८ हजार ५६४ जना र पुसमा ६५ हजार ४६४ जना युवाहरु रोजगारीको खोजीमा ११५ वटा देशमा पुगेका छन् ।

यी हुन नेपालको प्रमुख गन्तव्य

नेपालबाट विश्वका ११५ वटाभन्दा बढी देशमा विदेशिए पनि प्रमुख गन्तव्यरुपमा थोरै देश समावेश छन् । नेपालबाट सबैभन्दा बढी मलेसियामा रोजगारीको खोजीमा युवाहरु गएको देखिन्छ ।

चालु आर्थिक वर्षको ६ महिनामा मलेसियामा मात्रै १ लाख ६३ हजार जना नयाँ तथा पुनः श्रम स्वीकृति लिई पुगेका छन् ।

मलेसियापछि कतारमा नयाँ तथा पुनः श्रम स्वीकृति लिई ६६ हजार ४६५ जना, युएईमा ५५ हजार १३८ जना, साउदी अरेबियामा ३० हजार ६९१ जना र कुवेतमा २६ हजार १७० जना रोजगारीको खोजीमा पुगेका छन् ।

त्यसैगरी, रोमनियामा ७ हजार ३६० जना, दक्षिण कोरियामा ५ हजार ९६६ जना, माल्टामा ४ हजार ५०८ जना, जापानमा ४ हजार ३१८ जना, बहराइनमा ४ हजार १११ जना, ओमनमा २९ सय ३८ जना, साइप्रसमा २३ सय जना, माल्दिभ्समा २१ सय ४६ जना, पोल्यान्डमा १७ सय २८ जना, इजरायलमा ८८७ जनाm जोर्डनमा ६१९ जना, टर्कीमा १४८ जना र अन्य देशमा १६ हजार १६ जना नेपाली विदेशिएका छन् ।

रेमिट्यान्स आप्रवाह बढ्दो क्रममा

यता रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाह पनि ह्वात्तै बढेको छ । अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको रेमिट्यान्स बढेसँगै अन्य क्षेत्रमा पनि सुधार हुने अपेक्षा लिएको छ । अहिले बजारमा तरलता अभाव चरम अभाव छ । जसले गर्दा लगानीयोग्य क्षेत्रमा लगानी थप हुन सकेको छैन । तर, पछिल्ला दिनमा रेमिट्यान्स आप्रवाहमा बढेसँगै अर्थतन्त्र सुधार हुने अपेक्षा लिएको छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकअनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ५ खर्ब ९५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । गत वर्षको सोही अवधिमा नेपालमा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ मात्रै रेमिट्यान्स आप्रवाह भएको थियो । गत वर्षको ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा १ खर्ब १७ अर्ब बढी रेमिट्यान्स आप्रवाह भएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा नेपालमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो । त्यस्तै, भदौमा ९४ अर्ब ८३ करोड रुपैयाँ, असोजमा ९४ अर्ब १ करोड रुपैयाँ र कात्तिकमा ९६ अर्ब ९९ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको थियो।

त्यस्तै, मंसिरमा पहिलोपटक १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो । मंसिरअघि मासिक ९० देखि ९७ अर्बको हाराहारीमा रेमिट्यान्स आप्रवाह हुँदै आएको थियो । तर, मंसिर र पुस महिनामा एक खर्ब रुपैयाँ बढी रेमिट्यान्स आप्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । पुस महिनामा १ खर्ब ४ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । जुन हालसम्मकै उच्च हो ।

गत साउनदेखि पुससम्मको रेमिट्यान्स आप्रवाह हेर्दा हरेक महिनामा बढ्दै गएको पाइन्छ ।


क्लिकमान्डु