विमानस्थलमा जहाज मर्मत कसले गर्ने भन्ने लफडाले निम्त्याएको ठाकुर ‘घुस डिल’ प्रकरणको नालीबेली



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने विमानको मर्मत, सम्भार र सञ्चालन (एमआरओ) सेवा कसले दिने भन्ने विषयमा लफडा भएपछि शुक्रबार घुस डिल सम्बन्धी भिडियो सार्वजनिक भएको हो ।

काठमाडौं । शुक्रबार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दियो ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा महाप्रबन्धक ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्न निजलाई निलम्बन गर्नु परेको उल्लेख छ।

मन्त्रालयको निर्देशनपछि प्राधिकरणले कर्मचारी सेवा सम्बन्धी नियम १३ (८)अनुसार ठाकुरलाई निलम्बन गर्ने निर्णय गर्दै ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

यस्तै, मन्त्रालयले यो प्रकरणमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरि पठाएको छ ।

प्राधिकरणले गठन गरेको छानबिन समिति र अख्तियार गर्ने छानबिनबाट यो प्रकरणमा के भएको सत्य तथ्य खुल्ने नै छ ।

मन्त्रालयले ठाकुरलाई निलम्बन गर्न निर्देशन दिए लगत्तै अडियो संवाद सार्वजनिक भएपछि क्लिकमाण्डूले यो प्रकरणमा के भएको हो भन्ने विषयमा विभिन्न सरोकारवाला विज्ञसँग कुरा गरेको छ ।

सरोकारवाला विज्ञहरुका अनुसार ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमआरओ सेवा कसले दिने भन्ने विषयमा रस्साकस्सीपछि’ घुस डिल प्रकरण सार्वजनिक भएको हो ।

सार्वजनिक अडियोमा विमानस्थलका निलम्बित महाप्रबन्धक ठाकुर र थाई एयरलाईन्सका इन्जिनियर पुटीवाट सिलापीले सोसाइटी इन्टरनेसनल ट्राभलका सञ्चालक रवि सिंहको बारम्बार नाम लिएको सुनिन्छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा थाई स्माइल एयरलाइन्सका प्रतिनिधि भनिएका व्यक्ति थाई एयरलाइन्सका इन्जिनियर पुटीवाट सिलापी हुन् ।

कोरोना महामारी अगाडिसम्म थाई एयरलाइन्सले नेपालमा उडान गर्ने गरेको थियो । तर, कोरोना महामारीपछि थाईले नेपालको सेवा बन्द गर्यो ।

थाई एयरलाईन्ससँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना लागी ग्राउण्ड ह्याण्डलिङ र एमआरओ सेवा दिने अनुमति पत्र थियो । काठमाडौंमा सेवा बन्द गर्दै थाई फिर्ता भयो । तर, गत वर्ष थाई एयरलाइन्सको भगिनी संस्था थाई स्माइल एयरलाइन्सले नेपालमा सेवा शुरु गरेपछि फेरि थाई एयरलाइन्सले आफ्ना इन्जिनियर पुटीवाट सिलापीलाई नेपाल पठायो।

थाईले नेपालमा सेवा बन्द गरेकाले सिलापीले थाईको भगिनी संस्था थाई स्माइल एयरलाइन्सको प्रतिनिध‍िको रुपमा नेपालका काम गरिरहेका छन् ।

सिलापीलाई भिषा लिन थाई स्माइलको नेपालका लागि आधिकारिक प्रतिनिधि सोसाइटी इन्टरनेसनल ट्राभलले अध्यागमनमा पत्र लेख्दै सहजीकरण गरेको छ ।

सिलापी एयरोनोटिकल इन्जिनियर हुन् । थाईसँग नेपालमा आफ्नो विमानलाई एमआरओ सेवा दिने लाइसेन्स पनि छ । तर, थाईले विगतदेखि विभिन्न अन्य वायु सेवा कम्पनीलाई एमआरओ सेवा दिइरहेको थियो । जुन गैरकानुनी हो ।

कोरोना महामारीको क्रममा नेपालमा सेवा बन्द गरेपछि थाईले सेवा दिन सकेन । प्राधिकरणले थाईलाई आफ्नो विमानलाई मात्रै एमआरओ सेवा दिने अनुमति दिएको भए पनि कोरोना महामारीभन्दा अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यो विषयलाई नजरअन्दाज गर्दै आएको थियो ।

कोरोना महामारीपछि थाई स्माइल एयरलाइन्सलाई सेवा दिन भन्दै नेपाल आएका सिलापीले अन्य कम्पनीलाई समेत सेवा दिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विवाद शुरु भयो ।

विमानस्थल कार्यालयले २०२२ मे २ मा थाई स्माइल एयरलाइन्सको नेपाल प्रतिनिधि सोसाइटी इन्टरनेसनल ट्राभल र सीलापीलाई पत्राचार गर्दै नेपालमा अन्य विमान कम्पनीलाई एमआरओ सेवा नदिन सचेत गराएको थियो ।

तर, पनि थाई स्माइलका प्रतिनिधिको रुपमा नेपाल आएका सिलापीले थाई स्माइलसहित मलेसियन, सिंगापुर, क्याथे प्यासिपिक, कोरियन, थाई लायनलाई एमआरओ सेवा दिँदै आएका छन् ।

विमानस्थल कार्यालयले पनि गैरकानुनी सेवा दिएको शुल्कमा १५ प्रतिशत रकम लिँदै आएको छ । विगतमा थाई एयरलाइन्सको प्रतिनिधिको रुपमा नेपालमा काम गर्दा सिलापीका विषयमा अन्य वायु सेवा कम्पनीलाई सेवा दिन नमिल्ने भन्दै कुनै प्रश्न नउठाएको विमानस्थल कार्यालयले पछिल्लो समय थाई स्माइलको प्रतिनिधिको रुपमा सीलापीले काम गर्दा किन प्रश्न उठायो ?

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एमआरओ सेवा दिन अनुमति लिएका कम्पनीले विमानस्थल कार्यालयमा निरन्तर उजुरी गरेपछि सीलापीलाई थाई स्माइल बाहेकका संस्थालाई सेवा नदिन पत्राचार गरिएको प्राधिकरण एक कर्मचारी दाबी गर्छन् ।

विगतमा नेपालमा एमआरओ सम्बन्धी सेवा दिने स्याम्रो नाम गरेको एउटा मात्रै कम्पनी थियो । कोरोना महामारीको क्रममा व्यवसायी दीपक भट्टको लगानी रहेको मर्करी एयर टेक्निक कम्पनीले पनि एमआरओ सेवा दिन अनुमति लिएको छ ।

यस्तै एरोसिस्टम नाम गरेको अर्को कम्पनीले एमआरओ सम्बन्धी सेवा दिने गर्छ । नेपाल वायु सेवा निगमले आफ्नो विमानलाई मात्रै एमआरओ सेवा दिन्छ भने तीन अन्य कम्पनीले नेपालका उडान गर्ने विभिन्न वायु सेवा कम्पनीलाई सेवा दिने गर्छन् ।

थाईले निरन्तर ७/८ वटा कम्पनीलाई सेवा दिँदा नेपाली कम्पनीको सेवा विस्तार नहुँदा लामो समयदेखि थाईस्माइलको प्रतिनिधिको रुपमा कार्यरत सीलापीसँग विवाद हुँदै आएको थियो ।

क्लिकमाण्डूले भिडियो सार्वजनिकपछि सीलापीसँग कुराकानी गर्दा उनले यो विषयमा आफूले केही नबोल्ने बताए ।
‘म यो विषयमा केही पनि बोल्न चाहन्न’सीलापीले भने,‘तपाईंले सुनेको विषयमा मलाई केही भन्नु छैन ।’

थाई एयरको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सम्बन्धी अनुमति पत्रसमेत नवीकरणको क्रममा छ ।

सीलापीले सेल्फ ग्राउण्ड ह्याण्डलिङ अनुमति पत्र नवीकरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएका छन् ।
माघ २४ गते प्राधिकरणले थाई स्माइलको बक्यौता सम्बन्धी जानकारी माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्र पठाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई स्माइलीले १ करोड ६७ लाख रुपैयाँ तिर्न बाँकी छ । यो रकम चुक्ता गरेलगत्तै थाई स्माइलीको विमानलाई एमआरओ सेवा दिने गरी थाईको लाइसेन्स नवीकरण हुने प्राधिकरणका अधिकारी बताउँछन् ।

‘ठाकुरजीले थाईका प्रतिनिधीसँग घुस माग्नु भयो वा भएन छानबिनबाट खुलिहाल्छ,’ प्राधिकरणका एक अधिकारीले भने,‘थाईलाई हामीले उसको विमानलाई एमआरओ सेवा दिने लाइसेन्स दिएका थियौं । तर, उसले विगतदेखि अन्य विमानलाई समेत सेवा दिँदै आएको थियो । पछिल्लो समय उसलाई अन्य वायुसेवा कम्पनीलाई सेवा नदिनू भन्ने सर्कुलर गरेकाले पनि विवाद भएको हुन सक्छ ।’

घुस मागेको छैन: ठाकुर

निलम्बनमा परेका ठाकुरले आफूलाई निलम्बन गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती राईको निर्णय गैरकानूनी भएको दाबी गरेका छन् ।

आफूले कसैसँग घुस नमागेको दाबी गर्दै उनले स्पष्टीकरण नसोधि सिधै निलम्बन गर्ने मन्त्रालयको काम कानूनसम्मत नभएको उनको भनाइ छ ।

‘मैले पैसाको कुरा गरेको छैन, घुस मागेको त हुँदै होइन,’ ठाकुरले भने, ‘पैसाको कुरा होइन, रविसँग विमानस्थलको बक्यौता चुक्ता गर्नेबारे कुरा भएको हो ।’

मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै घुस मागेपछि कारबाही: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् । उनले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक ठाकुरलाई कारबाही गरिएको बताए ।

‘विमानस्थलको निर्देशकलाई भर्खरै निलम्बन गरेर आएँ । मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछ । त्यही पनि थाइल एयरलाइन्सलाई करोडौं रुपैयाँ अब अरु पनि आउँछ, खुल्दै जान्छ । मन्त्रीलाई पैसा बुझाउनु पर्ने,कहिले कहिले बुझाइयो । को–कोलाई बुझाइयो । त्यो स्पष्ट हुनुपर्छ । पैसा खानको निम्ति मन्त्री आएको हो भने जनताले सजाय गर्नुपर्छ’ उनले भने ।


शरद ओझा