काठमाडौंका सडकमा १२ करोडमा आधुनिक सडक बत्ती जडान हुने, प्राधिकरण र महानगरबीच सम्झौता



काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच काठमाडौंका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न सम्झौता भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो सामाजिक सञ्जालबाट प्राधिकरण र महानगरपालिकाबीच भएको सम्झौताको जानकारी दिएका हुन् ।

सडकमा बत्ती जडान गर्नका लागि अनुमानित लागत ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लाग्ने शाहले बताएका छन् । कुल लागतमध्ये ६० प्रतिशत काठमाडौं महानगरपालिकाले बेहोर्ने र बाँकी ४० प्रतिशत विद्युत प्राधीकरणले बेहोर्ने गरि सम्झौता भएको हो ।

महानगर, प्राधिकरण र सडक विभागबीच यसअघि भएको सम्झौताको आधारमा सडकमा आधुनिक सडब बत्ती जडान गर्ने कुरामा महानगरको तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरेको मेयर शाहले बताएका छन् ।


क्लिकमान्डु