टर्की भूकम्प: वर्षाकाबीच तापक्रम माइनस १० डिग्री सेल्सियस पुग्दा उद्धारमा समस्या, मृत्यु हुनेको संख्या ४ हजार ३ सय



काठमाडौं । दश घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएपछि टर्की र सिरियामा ४ हजार ३०० भन्दा धेरैको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरुका अनुसार टर्कीमा २ हजार ९ सय भन्दा धेरैको मृत्यु हुँदा १५ हजार भन्दा धेरै घाइते भएका छन् । त्यस्तै सिरियामा १ हजार ४ सय जनाको मृत्यु भएको छ ।

दुई हजार ८३४ भवनमा क्षति पुगेको विपद् व्यवस्थापन तथा इएमआरले जनाएको छ । त्यस्तै विपद् व्यवस्थापन प्राधिकरणले खोजी तथा उद्धार कार्य जारी रहेको पनि उल्लेख गरेको छ ।

स्थानीय समय अनुसार सोमबार बिहान ४:१७ मा तुर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियन्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प र दिउँसो १:२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

टर्किस रेड क्रिसेन्ट र एएफएडीबाट उद्धार टोलीहरू भूकम्पग्रस्त क्षेत्रमा पठाइएको थियो । प्राधिकरणले १३ हजार खोज एवं उद्धार कर्मचारी प्रभावित क्षेत्रहरूमा पठाइएको बताएको छ ।

टर्की सेनाले पनि इस्तानबुल, अङ्कारा र इज्मिर प्रान्तबाट १८ वटा विमानहरू सहित कर्मचारीहरू पठाएको सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ। यसै बीच टर्कीको रक्षा मन्त्रालयले खोज र उद्धार कार्यलाई सक्षम र व्यवस्थित बनाउन विभिन्न स्थानमा हवाई करिडोर स्थापना गरेको छ ।

भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले हिमपहिरोका कारण खोज तथा उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ ।

बीबीसीका अनुसार उद्धारकर्ताहरू भारी वर्षा र हिउँसँग लडिरहेका छन् । एनटीभी प्रसारकले व्यापक हिउँ परेको कहरामनमारस प्रान्तमा उद्धार प्रयासहरू भइरहेको देखाएको छ जहाँ दुई बालबालिकालाई कङक्रीटको भग्नावशेषको ठूलो स्ल्याबबाट जिउँदै निकालिएको थियो।

भूकम्प प्रभावित क्षेत्रहरू छाड्न खोजिरहेका मानिसहरू ट्राफिक जामका कारण अलपत्र परेका छन् । टर्किएले भूकम्पपछि स्तर-४ अलार्म जारी गर्दै अन्तर्राष्ट्रिय सहायताको आह्वान पनि गरेको छ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पपछि करिब ४५ देशबाट तुर्किएलाई सहयोगको प्रस्ताव आएको बताएका छन् ।


क्लिकमान्डु