बोर्डमा निवेदन दिएको १५ दिनभित्र ब्रोकरलाई शाखा खोल्न अनुमति: हमाल



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अबका ६ देखि ८ हप्तामा साना तथा मझौला उद्यम (एसएमईज) कार्यान्वयमा आउने बताएका छन् । आफू बोर्डमा आउनासाथ एसएमईज लागू गर्न खोजे पनि नेप्सेको असहयोगका कारण समय लागेको उनले बताए ।

ललितपुरमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष हमालले अहिले एसएमईजको विनियमावली निर्माणको काम ९५ प्रतिशत सकिएको र अब बोर्डबाट पास गरेर अर्थ मन्त्रालयमा पठाउने बताए ।

‘एसएमईमा धेरै कमजोरी भयो अहिले काम धमाधम भइरहेको छ । हामी आफैं पनि सन्तुष्ट छैनौं,’उनले भने, ‘नेप्सेले सहयोग नगरेका कारण काम भएन । अब नियमावली तयार हुँदैछ । ९५% काम भयो । ६ देखि ८ हप्तामा यसको काम शुरु हुन्छ ।’
उनले बोर्डले गर्ने काममा समय सीमा तोकेको उनको भनाइ थियो ।

अब ब्रोकरको शाखा खोल्न आवेदन परेको खण्डमा १५ दिनमा अनुमति पाउने उनको घोषणा छ । तोकेको समयमा काम गर्न नसकेको खण्डमा बोर्डले सम्बन्धित कम्पनीलाई लिखित जवाफ दिने उनको भनाइ छ ।

हमालले भित्री कारोबार गर्नेलाई अनुसन्धान गर्न तहकिकात अधिकारी तोकेको बताए । ‘त्यसका लागि अनुसन्धान शुरु गरेका छौं । पहिलो पटक रेटिङ कम्पनीलाई कारबाही गरेका छौं’ उनले भने । उनले समयमा बुझाउनु पर्ने कम्पनिले २ दिन ढिला हुँदा पनि कारबाही गरेको बताए ।

हमालले १५ बर्षभन्दा बढी विदेशमा काम गरेको अनुभाव अहिले प्रयोग गर्न खोजेको बताए ।

उनले विदेशमा सार्वजनिक संस्था पारदर्शी र जनताप्रति उत्तरदायी हुने गरे पनि नेपालमा त्यो नभएर हुन नसकेको बताए । समय सीमा तोकेर काम गर्ने बानी बसालेको उनको भनाइ छ ।

बोर्डले गरेका काम सानो देखिए पनि दीर्घकालीन रुपमा धेरै अर्थ राख्ने हमालको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका गभर्नरको सहयोगमा मर्जरमा जादा १५ दिनभन्दा बढी सेयर कारोबार रोक्न नमिल्ने नीति ल्याएको बताए ।

मापदण्ड पुगेका कम्पनीलाई ३५ दिनमा लाईसेन्स दिने र ३५ दिनमा दिन नसकेको खण्डमा बोर्डले नै लिखित जवाफ दिने उनले बताए ।

वैदेशिक रोजगारीमा जानेलाई आईपीओमा आरक्षण दिँदा बिप्रेषण बढ्छ भनेर फास्ट ट्रयाकमा काम गरेको उनले बताए । उनले आफू बार्डमा आएको ५ महिनामा नै यो कार्यान्वयन गरेको उल्लेख गरे ।


क्लिकमान्डु