मौरीका घारले भरियो रत्नेचौरको ‘भाइरल’ तोरीबारी, वार्षिक १२ लाख आम्दानी



गलेश्वर । रत्नेचौरको फाँट तोरी फुलेर पहेँलै भएको छ । खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार । म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको फाँट यतिबेला मौरीको चरन र मानिसको भीडले ‘भाइरल’ बनेको छ ।

यही भाइरल तोरी फाँटमा बेनी–४ सुर्केमेलाका दिलबहादुर खत्री मौरी चराउन व्यस्त छन् । उनी रत्नेचौर र छिमेकी जिल्ला बागलुङको कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर मौरी चराउँछन् ।

एक दशकदेखि व्यावसायिक रुपमा मौरीपालन गरेका ४२ वर्षीय खत्री ७० घार मौरी लिएर घुम्ती चरनका लागि रत्नेचौरको तोरीबारीमा आएका छन् ।

पहेँलै फुलेको तोरीबारी आसपासका क्षेत्रमा मौरीको ताँती नै देखिन्छ । ‘मौसमअनुसार आहारा पाइने ठाउँमा मौरीलाई सार्नुपर्छ, मौरीको स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त वातावरण चाहिन्छ’, उनले भने ।

जङ्गल आसपासका क्षेत्रलाई चरन क्षेत्रका रुपमा प्रयोग गर्दा मह दोब्बर उत्पादन हुनाका साथै स्वादिलोसमेत हुने भएकाले समय अनुकूल चरन क्षेत्रको खोजी गर्नुपर्ने उनले बताए ।

उनी २१ वर्षको उमेरमा दुबई पुगेर दुई वर्ष बिताएर फर्किएपछि पुनः मलेसिया गए । मलेसियामा तीन वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर मौरीपालन गरेका खत्रीले वार्षिक रुपमा मौरी तथा मौरीसहितका घार बिक्री गरेर वार्षिक २० लाखको कारोबार गर्ने गरेको बताए ।

वार्षिक एक क्विन्टल मह उत्पादन हुने र सबै खर्च कटाएर वार्षिक १२ लाखभन्दा रुपैयाँ बढी आम्दानी हुने उनको भनाइ छ । उनले महका अलवा मौरीसहित र खाली गरी वार्षिक एक सय मौरीका घार पनि बिक्री हुने बताए ।

प्रतिघार मौरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उनको अनुभव छ । गत वर्ष मौरीसहितका घार बिक्रीबाट मात्रै उनले १० लाख रुपैयाँ आम्दानी भएको जानकारी दिए ।

यस वर्ष चरन क्षेत्रमा राखेका ७० घार मौरीबाट दुई सय ५० किलो मह उत्पादन गर्ने अपेक्षा गरेको उहाँले सुनाउनुभयो । प्रत्येक घारमा मौरीले तीनदेखि चार किलोसम्म मह उत्पादन गर्दछ ।

ताजा मह रु एक हजारदेखि रु एक हजार पाँच सय प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । महका गोला र मौरीसहितका घार, खाली घार, खाली घार भएका कृषकका लागि मौरी मात्रै पनि बिक्री गर्ने गरेको उनी बताउँछन् ।

कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको रु १० हजार, मौरी मात्रै रु पाँच हजार र खाली घार रु तीन हजार पाँचसयमा बिक्री हुन्छ ।

बर्खाको समयमा धान र मकै, हिउँदमा तोरीबारीमा लैजाने गरेकामा पर्याप्त आहारा नपुगेमा मौरी भाग्ने जोखिम रहेको अर्का कृषक जीवन केसीले बताए ।

उनले मौरीको सबैभन्दा पहिलो रोजाइ चिउरी र दोस्रो तोरीबारी रहेको जानकारी दिए । गुणस्तरीय महका लागि फलफूल, तरकारी, तेलहन, दलहन बाली, फूल फुल्ने सबै बिरुवा अनुकूल भए पनि सबैभन्दा राम्रो तोरी र चिउरी हुने उनको भनाइ छ ।

गुणस्तरीय मह उत्पादन गरे ग्राहक मह खोज्दै घरमै आउने भएकाले बजारको समस्या नभएको कृषकहरुको भनाइ छ ।

रत्नेचौरको तोरीबारीमा मौरी चराइरहेका कृषक केसीका अनुसार मौरीपालनबाट सोचेजस्तै आम्दानी हुने गरेको छ । उनले मौरीको आनीबानीसँग खेल्न सक्नेलाई अन्य व्यवसाय गर्न नपर्ने बताए । हरेक मौसममा फरक फरक ठाउँमा पुर्‍याएर चराउनुपर्ने वाध्यता रहेको उनको भनाइ छ ।

बिहान चरन क्षेत्र पुगेका मौरी घाम अस्ताउन लागेपछि आफ्नै बासस्थानमा फर्किने अवस्थामा अरिङ्गाल लगायतका किराको आक्रमणले क्षति हुने गरेको कृषकले बताएका छन् ।

विगतमा मौरीले तोरीबारी नष्ट गर्ने भ्रम रहेको अवस्थामा अहिले भने तोरीखेतीमा सक्रिय कृषकले नै मौरीपालकलाई बोलाउने गरेको भानु मावि रत्नेचौरका प्रअ भरत खत्रीले बताए ।

म्याग्दीमा अगुवा कृषकले मौरी पालनबाटै वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । एकै ठाउँमा चरन क्षेत्रले नपुग्ने भएपछि घुम्ती चरनका लागि ठाउँठाउँमा घार राख्ने गरिएको छ ।


क्लिकमान्डु