व्यवसायीहरुलाई कस्ने नीति नलिन बैंकहरुसँग गभर्नर अधिकारीको आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गरेका छन् ।

बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरुलाई परिरहेको अफ्ठ्यारो बुझेर बैंकले व्यवसायीहरुलाई कस्ने नीति नलिन आग्रह गरे ।

उनले व्यवसायिहरुका बैंकिङ समस्यालाई कन्जुमर प्रोटेक्शनका लागि विभिन्न सुनुवाई गर्ने गरिएको बताए ।

कुनै पनि ग्राहकलाई बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासो गर्न आग्रह उनको थियो । गभर्नर अधिकारीले राष्ट्र बैंकमा आएको गुनासोको उचित सम्बोधन गर्ने बताए । ग्राहकको सुरक्षाका लागि नै बैंकले गुनासो सुन्ने व्यवस्था गरिएको उनको भनाइ थियो ।

अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहेको भए पनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने उनको भनाइ थियो ।
गभर्नर अधिकारीले पछिल्लो समय बजारमा तरलतामा सहजता आउन लागेको बताउँदै तरलतामा सहजता आउने भएपछि बैंकको समस्या पनि बिस्तारै कम हुँदै जाने भएकोले व्यवसायीलाई नकस्न आग्रह गरे ।

दुई महिनाको अन्तरालमा अन्तरबैंकिङ ब्याजदर ८ प्रतिशतबाट ४.१० प्रतिशतमा झरेको उनले बताए ।

गभर्नर अधिकारीले अहिले मुलुकमा एकखाले मन्दीको अवस्था सिर्जना भएको भएकाले बजारमा माग घटेको उल्लेख गरे ।

‘तपाईहरुले कस्ने बेला होइन यो, एक महिना जति हेर्दिनुहोस् न, एउटा क्वार्टरमा ब्याज नतिर्दैमा तुरुन्तै अक्शन गर्नुपर्छ भन्ने छैन, हाम्रो नियमले पनि त्यो बताउँदैन । अवस्था अनुसार रिकोभरीका काम गर्नुस् भनेका छौँ’ उनले भने,’ बैंकिङ सिस्टममा नर्मली त्यो हुँदैन तरपनि अफ्ठ्यारो बेलामा त्यो गर्नुपर्छ । त्योसँगै अहिले कन्जुमर प्रोटेक्शनको सन्दर्भमा हामीसँग डेडिकेटेट डिभिजन छ, त्यसले विभिन्न किसिमका समस्याहरु सुनुवाई गर्छ ।’

गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको सुधारका लागि संरचनागत सुधार गर्नुपर्ने बताए। उनले उपयोग तथा राजश्व बढी आयातमा निर्भर भएको भन्दै संरचनागत रुपमा यस्तो अवस्थालाई कम गर्दै जानुपर्ने बताए ।

अर्थतन्त्रको समस्या समाधान गर्न दीर्घकालिन योजना बनाएर जानुपर्ने देखिएको बताए । गभर्नर अधिकारीले मौद्रिक नीतिका सीमाहरू आफ्नै भएको तर सीमाभन्दा बढी आशा गर्ने गरिएको बताए । उनले अर्थतन्त्रको माग बमोजिम औजारहरू चलाइएको र अहिले केहीकेही अस्थायी औजार हटाइसकिएको पनि बताए ।


क्लिकमान्डु