गहुँ आयात तत्काल खुल्छ, स्टार्ट अप नीति अन्तिम चरणमा: मन्त्री भण्डारी



काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतसँग गहुँ आयातका विषयमा छलफल भइसकेकोले तत्काल आयात खुल्ने बताएका छन् ।

सोमबार भेटवार्ताका लागि सिंहदरबार पुगेका नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिले भारतले अहिले गहुँ आयात रोक्दा नेपाली मैदा मिलहरु समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनुपर्नेमा जोड दिएका थिए । जवाफमा मन्त्री भण्डारीले भारतसँग छलफल भइसकेको भन्दै तत्काल गहुँ आयात खुल्ने बताएका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा पुगेको महासंघको पदाधिकारीको टोलीले मन्त्री भण्डारीलाई अस्थीर ब्याजदरका कारण विशेषगरि साना व्यवसायी अत्यन्त प्रताडित हुनु परेको बताएका थिए ।

इन्धनको मूल्य समायोजन हुन नसक्दा लागत बढ्न गई मुद्रास्फितिमा समेत चाप परेको उनले जिकिर गरे । उद्योगहरुमा अघोषित लोडसेडिङका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनु पर्नेमा उनले जोड दिए ।

कोभिड यता लगानी हुन नसकेका कारण आगामी केही वर्ष अर्थतन्त्रमा समस्या कायम रहने अध्यक्ष गोल्छाको भनाइ छ ।
भेटवार्तामा राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयन बारे गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको निरन्तरता र सहकार्यका लागि आग्रह गरेका छन् ।

साथै, महासंघको पहलमा तयार भएको स्टार्ट अप नीतिका सम्बन्धमा अन्तिम छलफल गरि पारित गर्न समेत उनले अनुरोध गरे ।

मन्त्री भण्डारीले स्टार्ट अप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने बताए ।

महासंघले प्रधानमन्त्रीको आशन्न भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सिआईआई सह–आयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयकातर्फबाट आवश्यक समन्वय गरिदिन समेत सो अवसरमा आग्रह गरे ।

मन्त्रालयसँगको साझेदारीअनुसार सबै प्रदेशमा इन्कुवेसन केन्द्र स्थापना गर्न महासंघसंग सहकार्य गर्ने उल्लेख भएकाले यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजानु पर्ने धारणा व्यक्त गरे ।

साथै साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी सहायता केन्द्र स्थापना गरेकाले सरकारसंगको सहकार्यका लागि आग्रह गरेका छन् ।

साथै, मन्त्री भण्डारीले बन्द हडताल एवं लोडसेडिङका कारण उत्पादन बन्द हुने अवस्था आउन नदिन मन्त्रालयले विशेष पहल गर्ने आश्वासन पनि दिएका छन् ।


क्लिकमान्डु