दाङको टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै



दाङ । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ । ‘निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ’, उनले भनिन् ।

लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ । टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ । हाल दाङबाट काठमाडौँको न्यूनतम भाडा आठ हजार आठ सय १० रुपैयाँ तथा काठमाडौँबाट दाङको भाडा न्यूनतम नौ हजार र अधिकतम १२ हजार रुपैयाँ रहेको छ । हाल कायम रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ ।


क्लिकमान्डु