भारतबाट गहुँ आयात नभए बजारमा मैदा/आँटा दिन सकिँदैन: मैदा उद्योग संघ



काठमाडौं । नेपाल मैदा उद्योग संघले भारत सरकारले गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव भएको जनाएको छ ।

मैदा/आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठुला–साना सबै होटललाई माग अनुसारको मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएकोले कसरी मैदा/आँटा उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित रहेको संघले जनाएको छ ।

भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेको हँदा मैदा/आँटाको मूल्य बढिरहेकाले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको छ ।

पछिल्लो समयमा बजारमा गहुँ नभएका कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग बन्द हुने अवस्थामा पुगेको र बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्था रहेको संघका महासचिव राधेश्याम अग्रवालले जानकारी दिए । ‘मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन ।

यो विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ’ अग्रवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भारत सरकारले दिएको पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउन सरकारसँग संघले आग्रह गरेको छ । बाँकी ३ महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने भन्दै संघले मैदाको सट्टा गहुँ आयात गर्ने प्रक्रिया बढाइदिन आग्रह गरेको छ ।


क्लिकमान्डु