फागुनभित्र घरको नक्सा पास नगरे विराटनगर महानगरपालिकाले कारबाही गर्ने



विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी घर तथा भवनहरूको नक्सा पास नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएका वा तला थपको नक्सा पास नगरेका भए तुरुन्त गर्न भनेको छ । त्यस्तै मापदण्ड अनुकूल रहेको भए पनि त्यस्ता भवनहरूको आगामी फागुन मसान्तभित्रमा नक्सा पेस गरी स्वीकृत गर्न महानगरले भनेको छ ।

विराटनगर महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको, तला थपेपछि पनि नक्सा पास नगरेको पाइएको महानगरपालिकाले जनाएको छ ।

तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र कार्यालयको निर्णयबमोजिम कारबाही हुने महानगरले चेतावनी दिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रमा धेरैले नक्सा पास नगरी घर तथा भवन निर्माण गरेको तथ्यांक पाइएको बताए ।
उनले राज्यले तोकेको कानूनको परिधिभित्र सबै आउनुपर्ने र नआए कानूनअनुसार कारबाही हुने बताए ।

महानगरका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले एकतले घर र भवनको नक्सा पास गरेर तीन–चार तलेसम्म बनाएको पाइएको बताए ।

गत असोज १५ गते महानगरले सीमा पर्खाल नियमित गर्न र अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सूचना प्रकाशित गरिसकेको छ । अटेर गर्दा कतिपय पर्खाल डोजर लगाएर भत्काएको पनि छ । अझै सो क्रम नियमित गर्ने उनले बताए ।


क्लिकमाण्डू