यसवर्ष ५ अर्ब नाफा कमाउने राष्ट्रिय वाणिज्य बैंकको लक्ष्य



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षमा करिब ५ अर्ब नाफा आर्जन गर्ने लक्ष्य राखेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको कुल निक्षेप दुई खर्ब ७२ अर्ब, कुल कर्जा प्रवाह दुई खर्ब ३४ अर्ब र नेटवर्थ ३४ अर्ब ३४ करोड बराबर रहेको छ ।

बैंकको निष्कृय कर्जा दुई दशमलब ७९ प्रतिशत, आधारदर ९ दशमलब २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलब ६५ प्रतिशत बराबर रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको कुल निक्षेप तीन खर्ब, कुल कर्जा दुई खर्ब ५८ अर्ब, मुनाफा चार अर्ब ९७ करोड बनाउने लक्ष्य राखिएको छ । त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्याउने लक्ष बैंकले लिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आफ्नो स्थापनाको ५८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सबका अवसरमा बैंकले `आरबीबी डिजिटल संसार´ सेवा शुरु गरेको छ ।

बैंकको वार्षिकोत्सब कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले अहिले नेपाली बैंकिङ क्षेत्रमा वाणिज्य बैंक सबल, सुदृढ र अग्रणी स्थानमा रहन सफल भएको बताए । त्यस्तै, वाणिज्य बैंकले अधिकतम श्रोत परिचालन तथा व्यवसाय विस्तार, किष्कृय कर्जा व्यवस्थापन, बैंकको रिब्रान्डिङ, प्रविधिमा सुधारलगायतका क्षेत्रमा काम गरेको बताए ।

विगतका वर्षहरुमा विभिन्न उतारचढाव भोगेको बैंकले पछिल्ला वर्षहरुमा वित्तीय सूचक र व्यवस्थापनमा उल्लेख्य सुधार भएको सीईओ श्रेष्ठको भनाई छ । बैंकको वित्तीय अवस्था सुधारका लागि पाँच वर्षीय रणनीतिक योजना तर्जुमा गरि म्यानेजमेन्ट अडिट, मानव संशाधन अडिटलगायतका काम गरेको पनि उनले बताए ।

एनआईडिसी डेभलपमेन्ट बैंकस्ँग मर्जर गर्ने, सहायक कम्पनीका रुपमा आरबीबी मर्चेन्ट संचालन गर्ने, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनी को स्थापना तथा संचालन पनि बैंकको उपलब्धी रहेको श्रेष्ठले बताए ।

बैंकिङ क्षेत्रमा प्रतिस्पर्धी बन्न राष्ट्रिय वाणिज्य बैंकले विगत चार वर्षयता हरेकवर्ष लगानीकर्तालाई लाभांश दिइरहेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा बैंकले १२ दशमलब पाँच प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, देशका सबै जिल्लामा गरि दुई सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिइरहेको बैंकले जनाएको छ ।

वाणिज्य बैंकसँग कारोबार गर्ने ग्राहकको संख्या ३८ लाख ६१ हजार रहेको पनि बैंकले जनाएको छ । त्यस्तै बैंकको एटीएम प्रयोगकर्ता सात लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २० हजार पाँछ सय र क्युआर प्रयोगकर्ताको संख्या २५ हजार पाँच सय बराबर रहेको छन् ।


क्लिकमान्डु