राष्ट्र बैंकको नीतिका कारण ३ हजार सवारी साधनको भन्सार जाँचपास हुन सकेन: नाडा



काठमाडौं । नेपाल अटो मोबाइल एशोसिएनका अध्यक्ष ध्रुव थापाले राष्ट्र बैंकको नीतिका कारण भन्सारमा ३ हजार सवारी साधनको जाँचपास हुन नसकेको बताएका छन् ।

नाडाका अध्यक्ष थापाले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलसँग भेट गरी नेपालका भन्सार नाकाहरुमा ६ महिना देखि करिब ३ हजार सवारी साधनहरुको भन्सार जाँचपास हुन नसकेको बताएका हुन् ।

‘नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोवाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था विद्यमान नै छ । अहिले लाखौंको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरुले आफनो रोजगारी समेत गुमाईरहेको मात्र छैन नेपालका भन्सार नाकाहरुमा ६ महिना देखि करिब ३ हजार सवारी साधनहरुको भन्सार जाँचपास समेत हुन नसकेको अवस्था छ,’ उनले अर्थमन्त्रीसामु भने ।

छलफलमा अध्यक्ष थापाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने जिकिर गरे ।

सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सिमालाई वृद्धि गरिनु पर्ने र चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बँुदाहरुको संशोधनका लागि समेत अनुरोध गरे ।

छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले नेपालमा भारतसँगको व्यापारलाई सहज बनाउन र भारतीय लगानीलाई आकर्षित गर्न इन्डियन इकोनोमिक जोन स्थापना गरिनु पर्ने, नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग जस्तैै अटोमोवाइल स्पेयर पार्टस उद्योगको प्रशस्त संभावना देखिएकोले यस क्षेत्रमा लगानी आकर्षित गर्न र यस्तो उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा प्रदान गर्ने व्यवस्थाका लागि समेत आग्रह गरे ।

साथै, महासचिव उप्रेतिले काठमान्डौं उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको स्थापनाका लागि समेत आग्रह गरेका छन् ।


क्लिकमान्डु