योजना आयोगका उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त



काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । यसअघि पनि डा श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । उनी राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत हुन् ।

उनले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्। त्यस्तै नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमपीए, बिएल र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। 


क्लिकमान्डु