क्रिप्टोकरेन्सी कारोबार गरिने वेबसाइट बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, अनलाइन जुवातास लगायतको कारोबार हुने वेबसाइट तथा एप नेपालभित्र सञ्चालन नहुने व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एपलगायतका नेपालभित्र सञ्चालन हुन नमिल्ने व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।
प्राधिकरणले भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङलगायतका कारोबार नेपालमा बढिरहेकाले मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएका यस्ता कारोबार सञ्चालन हुन नसक्ने अवस्था सिर्जना गर्न यस्तो सूचना जारी गरेको हो ।
सूचनामा भनिएअनुसार यस्ता वेबसाइट, एप तथा अन्य भर्चुअल माध्यममा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको छ ।
प्राधिकरणले निर्देशनको पालना नगरेमा कानूनअनुसार कारबाही पनि हुने जनाएको छ ।