कति हुन्छ एटीआर विमानको आयु ? ७५० घण्टा उड्दा हुन्छ शुरुदेखि अन्त्यसम्म चेकजाँच



काठमाडौं । बुध्द एयरका प्राविधिक निर्देशक मंगेश थापाले एटीआर विमानको आयु ७० हजार साइकल हुने बताएका छन् ।

थापाले अन्य विमानको आयु यति नै हुन्छ भन्ने एकिन नभए पनि एटीआर विमान ७० हजार साइकल पूरा गरेपछि उडान गर्न उत्पादक कम्पनीले रोक लगाएको बताए ।

कुनै विमानस्थलबाट एकपटक उडेको विमान अर्को विमानस्थलमा पुग्ने सम्मको अवधिलाई एक साइकल भन्ने गरिन्छ । एकपटक इन्जिन चलेर बन्द हुदाँ विमानको एक साइकल अवधि पूरा हुन्छ ।

मानौं विमान एकपटक उडेर ४ घण्टा उडोस् वा ३० मिनेटमा अवतरण हुँदा एक साइकल पुरा भएको मानिन्छ । यदि धेरै घण्टा उडेर पनि साइकल अवधि कम भएमा उडान घण्टाका आधारमा विमान मर्मत गर्ने गरिन्छ । यदी उडान घण्टा कम भएर साइकल अवधि धेरै भएमा साइकल अवधिका आधारमा विमान मर्मत गरिने थापा बताउँछन् ।

‘विमानको भन्दा पनि पार्टस्, संरचना र उपकरणको आयु हुन्छ । अमेरिकी राष्ट्रपति उड्ने विमान सन् १९९० मा बनेको थियो । अमेरिकी उपराष्ट्रपति चढ्ने विमान १९९७ मा बनेको थियो,’ थापाले भने,‘विमान नियमित मर्मत गरेर उडान योग्य बनाइएको हुन्छ । जसले गर्दा विमानको आयु लामो हुन्छ ।’

अहिलेसम्म आयुका कारण विमान दुर्घटना भयो भन्ने पुष्टी नभएको थापा दाबी गर्छन् ।

‘२१ नोभेम्बर, २००७ मा इतिहाद एयर लाइन्सलाई डेलिभरी दिने योजना बनाएको विमान १५ नोभेम्बर २००७ का दिन अन्तिम परीक्षण उडान गर्दा दुर्घटनामा परेको थियो’ थापाले भने, ‘विमान कसरी मर्मत गर्ने भन्ने विषयमा उत्पादक कम्पनीले म्यानुअल बनाएको हुन्छ । सोही आधारमा नियमित विमान मर्मत गर्यो भने विमान पुरानो भएरै दुर्घटना भयो भन्न मिल्दैन ।’

विमानमा प्रयोग भएका उपकरण र मेसिनको आयु उडान घण्टा, उडान साइकल र उडान दिनका आधारमा तोकिने गर्छ । उड्डयन क्षेत्रका विज्ञहरुका अनुसार उडान घण्टा, उडान साइकल र उडान दिन जुन सबैभन्दा पहिला आयो त्यहीँ आधारमा विमान मर्मत गर्नु पर्छ ।

‘उत्पादक कम्पनी र नियामक निकायले निर्धारण गरेको अवधिभन्दा छिटो विमान मर्मत गर्न मिल्छ, तर लिमिट बढाउन पाँइदैन्’ थापाले भने, ‘हरेक कम्पनीले विमान कसरी मर्मत गर्ने भन्ने विषयमा स्ट्याण्डर्ड मेन्टिनेन्स प्रोग्राम बनाएका हुन्छन् । त्यसअनुसार काम भए/नभएको विषयमा नियामक निकायले अनुगमन गरेको हुन्छ ।’

विमानको इन्जिन र सम्पूर्ण कम्पोनेन्टको आयु निश्चित हुने विज्ञहरु बताउँछन् ।

‘विमान खराब हुँदा पनि तत्कालै परिवर्तन नगर्दा पनि हुने कम्पोनेन्टसमेत हुन्छन् । त्यस्तो अवस्थालाई मिनिमम इक्यूप्मेन्ट लिस्ट (एमइएल) भन्ने गरिन्छ । कुनै पार्टस् खराब हुँदासमेत विमान केही दिन उडान गर्न मिल्ने हुन्छ,’ थापाले भने, ‘ तर, पाइलटले एमइएल अवस्था हुँदासमेत विमान उडाउँदैन भन्न पाउँछ ।’

एकपटक उडेको एटीआर विमान ७५० घण्टा उडान अवधि पूरा गर्दासम्म विमानको अगाडिदेखि पछाडि परीक्षण गरिसक्नु पर्छ । जसलाई वान ए सेड्युअल मेन्टिनेन्स भनिन्छ ।

त्यसैगरी एटीआर विमान थप ७५० घण्टा उडान गर्दा दोस्रोपटक सम्पूर्ण विमान मर्मत गर्नु पर्छ । जसलाई टु ए मेन्टिनेन्स भनिन्छ । त्यसैगरी तेस्रोपटक थप ७५० घण्टा विमान उडेपछि थ्रि ए मेन्टिनेन्स हुन्छ । त्यसैगरी चौथोपटक थप ७५० घण्टा उडेपछि फोर ए मर्मत हुन्छ ।

ए चेकका क्रममा विमानका विभिन्न उपकरणहरु परिवर्तन गर्नुको साथैं विभिन्न पार्टपुर्जाको विषय हेरिने गर्छ ।

विमान ८ हजार घण्टा उडेपछि सी चेक गर्ने गरिन्छ । त्यसैगरी १६ हजार घण्टा २४ हजार घण्टा विमान उडेपनि विस्तृत परीक्षण गर्नु पर्छ । सी चेक गर्दा विमानको विभिन्न पक्षका विषयमा सुक्ष्म अध्ययन गरिने गर्छ ।

विमान ३६ हजार घण्टा उडेपछि इन्जिन लगायतका विभिन्न पूर्जाको बिस्तृतमर्मत गर्नु पर्ने र संसारमा एटीआर विमान उडाउने दुईवटा वायु सेवा कम्पनीसँग मात्रै आफैं ३६ हजार घण्टा उडेको विमानमर्मत गर्ने क्षमता रहेको थापा दाबी गर्छन् ।

‘बुध्द एयर र न्यूजिल्याण्डको एक वायु सेवा कम्पनीसँग ३६ हजार घण्टा उडेको विमान मर्मत गर्ने क्षमता छ,’ थापाले भने ।
विमान पुरानो हुँदै जाँदा मेन्टिनेन्स लागत बढ्दै जाने विज्ञहरु बताउँछन् ।

एटीआर विमान हरेक पटक उडान र अवतरण गर्दा सर्सती चेक जाँच गरिने र निश्चित अवधी पुरा भएपनि बिस्तृत मर्मत गरिले विज्ञहरु बताउँछन् ।

‘बुध्द एयरमा हामी धेरै परीक्षण आफैं गर्छौं केही परीक्षणका लागि देश बाहिर गर्ने गरेका छौं,’ थापाले भने ।

विमान उडान र अवतरण गर्दा नियमित रुपमा विमानको संरचनामा क्षति पुग्न सक्ने र त्यसलाई नियमित रुपमा चेकजाँच र मर्मत गर्दै दुरुस्त राखिने गरेको छ ।

हरेक २ वर्ष, ४ वर्ष, ८ वर्ष, १० वर्ष, १२ वर्षमा विमानको परीक्षण गर्नु पर्ने व्यवस्था भए पनि यदी वर्षभन्दा उडान घण्टा वा साइकल छिटै पूरा भए विमान अगाडि नै मर्मत गर्नु पर्छ ।

विमान पुरानो हुँदै जाँदा विमान मर्मत गर्नु पर्ने अवधि घट्दै जान्छ ।

अहिलेसम्म एटीआर उत्पादक कम्पनीले एटीआर विमान ७० हजार साइकल पूरा भयो भने उडान नमिल्ने जनाएको छ । बुध्द एयरसँग ६० हजार साइकलभन्दा बढी उडिसकेका दुईवटा विमान छन् ।

‘ती विमानको ७० हजार साइकल पुग्यो भने उडान योग्य अवस्थामै भए पनि व्यवसायीक उडानका लागि योग्य हुँदैन,’ थापाले भने, ‘डेढ वर्षभित्र दुईवटा हाम्रा विमान ७० हजारको साइकल पूरा भएर ग्राउण्डेड हुन्छन् ।’

बुध्द एयरको इन्जिनियरिङ विभागका निर्देशक सन्तोष खाती एटीआर विमानको प्राय सबै किसिमका मेन्टिनेन्स बध्द एयरलाइन्सको ह्यांगरबाटै भइरहेको बताउँछन् । बुध्द एयरसँग विमान मर्मतका लागि मात्रै २६३ कर्मचारी रहेको र त्यसमा ४४ जना सर्टिफाइड कर्मचारी भएको खाती बताउँछन् ।

बुध्द एयरसँग ककपिट भ्वाइस रेकर्ड (सिभिआर) फ्लाइट डाटा रेकर्ड (एफडिआर) रिड गर्न मिल्ने संरचनासमेत रहेको र कम्पनीले नियमित रुपमा ति संरचनाको प्रयोग गर्दै उड्डयन सुरक्षा बढाउन काम गरिरहेको खाती दाबी गर्छन् ।

‘सञ्चालनमा रहेको सबै विमानको नियमित चेकजाँच हुँन्छ, त्यसका साथैं हामीले पाइलट गर्ने गुनासोका आधारमा पनि विमानको थप परीक्षण गर्ने गर्छौं,’ खातीले भने ।

बुध्द एयरसँग विमान मर्मतका लागि २ अर्ब ५३ करोड रुपैयाँ बराबरको स्पेर पार्ट स्टकमा रहेको छ । सन् २०२३ मा उपकरण खरिदमा ३ अर्ब ७० करोड रुपैयाँ खर्च हुने बुध्दको अनुमान छ । हाल ११ एटीआर ७२ र ३ एटीआर ४२ विमान सञ्चालन गरिरहेको बुध्द एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत हवाई सुरक्षा बलियो बनाउनु कम्पनीको पहिलो प्राथमिकता भएको बताउँछन् ।


क्लिकमान्डु