६ महिनामा वाणिज्य बैंकको नाफा ११.२७ प्रतिशतले बढ्यो, कुनको के भयो ?



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकको नाफा ११.२७ प्रतिशतले बढेको छ ।

कोरोना महामारीपछि अर्थतन्त्रमा देखिएको निकै सुस्तता, बैंकहरुले गरेको कर्जा लगानी नउठेको समयमा पनि बैंकहरुको नाफामा भने केही सुधार देखिएको छ ।

चालु आवको ६ महिनामा बैंकहरुको खराब कर्जा भने निकै बढेको तथ्याङकले देखाएको छ । खराब कर्जा बढ्दा पनि २० वटा बैंकको नाफा ११.२७ प्रतिशतले बढेर ३० अर्ब १३ करोड ४९ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकहरुको नाफा २७ अर्ब ८ करोड १४ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

यो ६ महिनाको अवधिमा ६ वटा बैंकको नाफा घटेको छ भने कृषि विकास बैकको नाफा ऋणात्मक बनेको छ । गत आवको पुस मसान्तमा १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंक चालु आवको सोही अवधिमा आइपुग्दा १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक बनेको छ ।

यो अवधिमा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा ५६.६७ प्रतिशतले बढेको छ । धेरै नाफा कमाउने दोस्रो बैंकमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा ३६.२७ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउनेमा २ वटा मात्रै बैंक रहेका छन् ।

यस्तै २ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गर्ने बैंकमा ग्लोबला आइएमई राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । ग्लोबल आइएमई बैंकको नाफा ४.४६ प्रतिशतले बढेर २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ रहेको छ । यस्तै वाणिज्य बैंकको नाफा ४१.२७ प्रतिशतले बढेर २ अर्ब ७१ करोड १८ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

चालु आवको ६ महिनासम्मको अवधिमा नाफा आर्जनमा अर्ब क्लबमा प्रवेश गरेका छैनन् । अर्ब भन्दा कम नाफा आर्जन गर्ने बैंकमा सिभिल, हिमालयन, सनराइज र सिटिजन्स बैंक रहेका छन् । यो अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकमा सिभिल बैंक रहेको छ । बैंकले ६३ करोड ७० लाख २२ हजार नाफा आर्जन गरेको छ ।

नाफा घटेका बैंक

चालु आवको ६ महिनाको अवधिमा नाफा घटेका बैंकमा प्राइम बैंक, सिदार्थ बैंक, नेपाल बैैंक, सनराइज बैंक, प्रभु बैंक र सिटिजन्स बैंकको नाफा घटेको छ ।

प्राइम बैंकको नाफा १.५८ प्रतिशतले घटेर १ अर्ब ६५ करोड २० लाख ४४ हजार रहेको छ । यस्तै सिद्धार्थ बैंकको नाफा २६.३८ प्रतिशतले घटेर १ अर्ब १६ करोड ११ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

चालु आवको ६ महिनाको अवधिमा नेपाल बैंकको नाफा १७.३८ प्रतिशतले घटेको छ । पुस मसान्तसम्म बैंकले १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

यस्तै सनराइज बैंकको नाफा १२.२८ प्रतिशतले घटेर ६५ करोड ३९ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

प्रभु बैंकको नाफा ४.९१ प्रतिशतले घटेर १ अर्ब १९ करोड ९९ लाख ६२ हजार रुपैयाँ रहेको छ भने सिटिजन्स बैंकको नाफा ३२.११ ले घटेर ८४ करोड १३ लाख ३३ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु