पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने गरी काम गर्न अध्यक्ष सिलवालको निर्देशन



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा निर्जीवन बीमा कम्पनीसँग भएको बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

उनले कम्पनीहरुले परिमाणभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताए । ‘बीमा अभिकर्ता बीमाका बारेमा राम्रोसँग बुझेको, बीमा व्यवसायका बारेमा जानकारी भएको, बीमा कम्पनीका बारेमा थाहा भएको हुनुपर्छ,’ सिलवालले भने,‘बीमा अभिकर्ता बीमा कम्पनीले छान्ने भएकाले ती विषयमा कम्पनीहरुले ध्यान दिनुपर्छ, बीमा अभिकर्ताले कम्पनीलाई बजारमा स्थापित गर्न सक्नुपर्छ । कम्पनीहरुले परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ ।’

हालै भएको विमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समस्या नरहेको समेत उनले बताए । ‘ठूला जलविद्युत आयोजना लगायत ठूला किसिमका संरचनाहरुको बीमा गराउनका लागि बीमा कम्पनीहरुबाट पनि प्रयास हुनुप¥यो,’ उनले भने, ‘कम्पनीहरुले आफूले आर्जन गरेको रकमको दुई प्रतिशत कर्मचारीहरुको क्षमता अभिवृद्धिमा खर्च गर्नुपर्यो । कर्मचारीहरुको दक्षतालाई सूचना प्रविधिमा आवद्ध गरी विकसित गर्नुपर्छ ।’

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनमा व्यवस्था भए बमोजिम एक बीमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बीमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।

प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले प्राधिकरणले आफ्ना काम कारवाहीलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएको बताए ।

बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमा कम्पनीले बीमा अभिकर्तालाई कामबाट अलग गर्दा निजसँग लेनदेन बाँकी नरहेको प्रमाणपत्र दिनुपर्ने र बीमा अभिकर्ताले बीमा कम्पनीमा प्रवेश गर्दा विगतमा अन्य कम्पनीमा काम गर्दा लेनदेन बाँकी भए आफैले बुझाउने कबुलियतनामा गरेको हुनुपर्ने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बीमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट संचालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा निर्जीवन बीमा कम्पनीहरुका बीमा अभिकर्ता शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


क्लिकमान्डु