माइक्रोसफ्टले हजारौं कर्मचारीलाई जागिरबाट निकाल्यो
एजेन्सी । प्राविधिक कम्पनी ‘माइक्रोसफ्ट कर्पोरेसन’ले हजारौं कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम स्काई न्यूजकाअनुसार माइक्रोसफ्टले आफ्ना कुल कर्मचारीको ५ प्रतिशत कर्मचारीलाई निकाल्न लागेको हो । कम्पनीमा हाल कार्यरत कर्मचारीमा ५ प्रतिशत कर्मचारी १० देखि ११ हजार हुन आउँछन् ।
बुधबार माइक्रोसफ्टको मानव संशाधन र इञ्जिनियरिङ विभागले सार्वजनिक गरेअनुसार विश्वव्यापी अर्थतन्त्र बिग्रदो अवस्था र खर्चमा वृद्धि भएका कारण कर्मचारी कटौती गरिएको जनाएको छ ।
कम्पनीमा गत वर्ष जुनमा २ लाख २१ हजार कर्मचारी थिए, जसमध्ये अमेरिकामा १ लाख २ हजार र बाँकी कर्मचारी अन्य देशमा रहेका थिए । गत वर्ष पनि कम्पनीले केही संख्यामा कर्मचारी कटौती गरेको थियो ।
तर, हाल भने कर्मचारीहरुलाई भारी संख्यामा कम्पनीले कटौती गर्न लागेको छ ।
गत जुलाईमा कम्पनीले १ प्रतिशत कर्मचारी कटौती गर्ने भन्दै करिब हजार कर्मचारीलाई निकालेको थियो । तर, हालको अवस्था थप नाजुक भएको भन्दै कम्पनीले हजारौंको संख्यामा कर्मचारीलाई निकालेको छ ।
कम्पनीका सीईओ सत्या नडेल्लाले कर्मचारीलाई दिएको अभिव्यक्तिमा भनिएको छ, ‘मलाई माइक्रोसफ्ट थप बलियो र प्रतिस्पर्धि भएर उदाउनेमा विश्वास छ । हामीले महामारीमा उपभोक्ताले गरेको अधिकतम इन्टरनेट प्रयोग देखेका थियौं । तर, अहिले उनीहरुले यसलाई कम गरिरहेका छन् ।’
यसअघि अमेजन, फेसबुक, ट्वीटर लगायतका प्राविधिक कम्पनीले सयौंको संख्यामा कर्मचारी कटौटी गरेका थिए ।