सभामुखमा उम्मेदवारीबारे कांग्रेसले अन्य दलसँग छलफल गर्ने, प्रधानमन्त्रीको धारणा कुर्ने



काठमाडौं । नेपाली कांग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सभामुखको उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यो बीचमा अन्य दलहरुसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरु चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा कांग्रेस रहेको उनले बताए ।

बैठकमा सर्वदलीय बैठकमा भएका कुराहरुका बारेमा उपस्थित नेताहरुले बैठकमा जानकारी गराएको र अन्य दलहरुसँगको छलफलबाट निस्कर्ष आएपछि कांग्रेसले दलहरुसँग गरेको सहमतिका आधारमा सभामुखको लागि उम्मेदवारी दिने उनले जानकारी दिए ।

प्रवक्ता महतले जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) कांग्रेसलाई सहयोग गर्ने पक्षमा रहेको दाबी गरे।
सभामुख चयनका लागि आज मनोनयन हुँदैछ ।


क्लिकमान्डु