पाँच वर्षे रणनीति बनाएर काम गर्छु : उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देन



काठमाडौं । उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् ।
आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गरेका हुन् ।

उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका छन् ।

‘आगामी पाँच वर्षका लागि ऊर्जा जलस्रोत र सिँचाईका क्षेत्रमा हामीले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरु के– के लागि तय गर्ने र हाम्रो आवश्यकता तथा प्राथमिकता निर्धारण गरी रणनीतिक योजना बनाउन मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ’, उनले भने , ‘योजनावद्ध ढङ्गले काम गर्न सकियो भने ठोस नतिजा निकाल्न सकिन्छ ।’

ऊर्जा जलस्रोत तथा सिँचाईजस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भएपनि आफूले त्यसलाई अवसरमा बदल्ने उनको भनाइ छ । ‘मन्त्रालय कुनै पनि राम्रो/नराम्रो वा सानो/ठूलो भन्ने त हुँदैनन्, सबै मन्त्रालय बराबर छन्’, उनले भने, ‘नेपालको हकमा ऊर्जा जलस्रोत र सिँचाई मन्त्रालय महत्वपूर्ण मन्त्रालय हो । मन्त्रालय सम्हाल्नु चुनौतीपूर्ण भए पनि म यसलाई अवसरमा परिणत गर्छु ।’

‘हामी सनातन धर्ममा विश्वास गर्ने भएकाले कुनै पनि शुभकार्य गर्दा आराध्यदेवको दर्शन गर्नुपर्छ भन्नेमा विस्वास राख्छौँ । त्यसकारण पशुपतिनाथको दर्शन गर्न गएको हुँ’ उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणपछि भने ।


क्लिकमान्डु