माछा मारिरहेको बेला ढुंगा लागेर घाइते भएका आले भन्छन्: अहिले पनि बेलाबेलामा झस्किन्छु



पोखरा । आइतबार विहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा बस्छन् कुमार आले । तनहुँको बन्दीपुरमा जन्मिएका उनी परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आएका छन् ।

स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन् ।
संयोगवश आइतबार पनि विहानै उनी सेतीको खोँच झरे । दुर्भाग्य, त्यहीँ माछा मार्ने क्रममा आइतबार विहान उनले जीवनमा कहिल्यै नदेखेको त्रासदी देखे र भोगे ।

एकसुरमा जालमा माछा पार्ने प्रयन्त गरिरहेका आलेले सेती सुसाएको जस्तो सुने । ठूलो आवाजसँगै माछा मारिरहेकै ठाउँमा ढुङ्गा झर्न थाले । सुसाएको आवाज ठूलै हावाहुरी आएको जस्तो सुनिएको आलेले सुनाए । ‘ढुङ्गा झर्न थालेसँगै मेरो त होसहवास नै उड्यो, के भयो भनेर निकै अत्तालिएँ’, उनले भने , ‘खोँचबाट माथि कसरी आइपुँगे आफैँलाई थाहा छैन, अहिले सम्झँदा कहाली लागेर आउँछ ।’

माथि आइसकेपछि मात्रै जहाज दुर्घटना भएको थाहा पाएको उनले सुनाए । सेती खोँचमा आफू मात्रै नभइ अरु चार जनाले पनि माछा मारिरहेको आफूले पछि मात्रै थाहा पाएको उनले बताए ।

‘यति ठूलो दुर्घटना हुँदा नदीकै खोँचमै रहेको म भाग्यले बाँचेको जस्तो लाग्छ, अहिले पनि सम्झाँदा डर लाग्छ’, उनले सुनाए, ‘परिवारका सदस्य पनि उत्तिकै डराएका छन् ।’ जहाज ठोक्किएपछि खोँचमा खसेका ढुङ्गा शरीरमा लाग्दा करङ्गमा चोट लागेको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको उनले बताए ।

नदीको दुवैतर्फ रहेका घनावस्तीका बीचमा जहाज दुर्घटना हुँदा आसपासका वस्ती जोगाएको भन्दै स्थानीयले पाइलट कमल केसीलाई धन्यवाद दिएका छन् । स्थानीयवासी एवम् सिर्जना टोल विकास संस्थाका सचिव इन्द्रप्रसाद सापकोटाले भने, ‘दुर्घटनाको प्रकृति हेर्दा पाइलटले बस्ती जोगाउन निकै प्रयास गरेको जस्तो देखिएको छ, दुर्घटनाको कारणबारे अनुसन्धानको रिपोर्ट आएपछि बाँकी जानकारी हुनेनै छ ।’

सरकारले दुर्घटना जाँचका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । सोमबार विमानको विहान भेट्टाइएको ब्ल्याक बक्स उक्त जाँच समितिले बुझाइसकिएको छ । ब्ल्याक बक्स जहाजको महत्वपूर्ण उपकरण मानिन्छ । जसमा विमान दुर्घटना हुनुभन्दा दुई घण्टा अघिसम्मका आवाज रेकर्ड हुन्छन् । उक्त ब्ल्याक बक्समा रेकर्ड भएका आवाजका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इञ्जिनको आवाजसँगै क्याविन, ककपिटआदिको आवाज रेकर्ड हुने भएकाले दुर्घटनाका समयमा जहाज कस्तो अवस्थामा थियो भन्ने पत्ता लगाउन सजिलो हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।


क्लिकमान्डु