विद्यालय तहमै योग शिक्षा अध्ययन गराउन आवश्यक: प्रधानमन्त्री



प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन् ।

आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा उनले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताए ।

विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउनसके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताए ।

उनले भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको बताए ।

प्रधानमन्त्री दाहालले भौतिक रुपले सम्पन्न देशहरुमा धेरै डिप्रेसन र आत्महत्याका घटनाहरु भएको भन्दै मानसिक रुपमा पनि चुस्त राख्न आवश्यक रहेको बताए ।

मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको उनको भनाइ छ ।

अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै प्रधानमन्त्रीले योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको बताए ।


क्लिकमान्डु