यातायातका तत्कालीन निमित्त प्रमुखविरुद्ध १ करोड ६ लाखको भ्रष्टार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानले गैरकानूनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भमि आयोग, ताहाचलका कार्यरत छन् ।

पोखरेलले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि आयोगले छानविन गरेको हो । आयोगका अनुसार पोखरेल २०४६ असार १ गते सार्वजनिक सेवामा प्रवेश गर्नुभएको थियो ।

आयोगले २०७८ फागुन १५ गतेसम्म सिर्जना गरेको सम्पत्ति, खर्च र लगानीको अध्ययन गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पोखरेलले कूल ३ करोड ३१ लाख ५५ हजार ६२ रुपैयाँ बराबरको आय आर्जन गरेको पाइएको छ । घरजग्गा बिक्री, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट लिएको कर्जा आय, घर बहाल आय, बीमा, विदेशबाट पठाएको विप्रेषण, मोटरसाइकल बिक्री, शेयर बिक्री र कृषि आय हिसाब गरिएको छ ।

सोही अवधिमा पोखरेलले चार करोड ३७ लाख ८८ हजार चार सय दुई रुपैयाँ बराबरको लगानी गरेको पाइएको छ । आम्दानी र खर्च तथा लगानीमा एक करोड छ लाख ३३ हजार तीन सय ३९ रुपैयाँ बराबरको भागको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

आयोगले गैरकानुनीरुपमा पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेर स्रोत नखुलेको सम्पत्ति विमला न्यौपाने पोखरेलको नाममा समेत लगानी गरेको पाइएको जनाएको छ ।

न्यौपानेको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खातामा रकम मौज्दात राखेको पाइएकाले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो जफत गर्न माग गरेको छ ।

आयोगले श्रीमान्, श्रीमती दुवैलाई बिगोअनुसारको सम्पत्ति जफत र जरिवानाकोसमेत माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।


क्लिकमान्डु