सन्दीपलाई फेरि राष्ट्रिय टोलीको कप्तान बनाउनु पर्छ: अधिवक्ता घिमिरे



काठमाडौं । अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताएका छन् ।

शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेटसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली क्रिकेटको स्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर पुनः कप्तानीको रुपमा क्यानले लामिछानेलाई जिम्मेवारी दिनुपर्ने बताए ।

बलात्कारको आरोप लागेसँगै क्यानले कप्तानीबाट हटाएको भएपनि जेलबाट छुटिसकेपछि भने लामिछानेलाई कप्तानीको जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो । लामिछाने मुद्दाका कारण क्यानको निलम्वनमा परेको तर क्यानको कारबाहीमा नपरिसकेकाले पुनः कप्तानी दिनुपर्ने उनले बताए ।

‘सम्माननीय उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमो छोड्ने आदेश दिएको छ । पैसाको म्यानेज उहाँको परिवारले गरिरहनुभएको छ । उच्च अदालतबाट फाइल जिल्ला अदालतमा गइसकेको छ । जिल्ला अदालतमा धरौटी जम्मा गरिसकेपछि जिल्ला अदालतको पत्र लिएर इन्टरनल प्रसेस यहाँ आएर गर्नेछौँ । उसको स्वास्थ्य परीक्षणपछि फेरि तारिख लिनुपर्ने हुन्छ, तारिख लिनका लागि जिल्ला अदालत गएर तारिख लिनेछौँ । शर्त राखिएका छन्, त्यसकै लागि जानकारी गराउन मैले भेटेर आएको हुँ । उ निलम्वनमा परेको हो, कारबाहीमा होइन, उ जेलबाट छुटिसकेपछि पुनः उसलाई क्यानले कप्तानी दिनुपर्छ । क्रिकेटको अवस्था कसरी गइरहेको छ, त्यो हेर्दा नै थाहा भइहाल्छ । क्रिकेटलाई जोगाउनु छ भने क्यानले गम्भीर बनेर नेपालको क्याप्टेन बनाउनुपर्छ ’ घिमिरेले भने ।

अधिवक्ता घिमिरेले आज सन्दीपलाई अदालतले दिएको आदेशका बारेमा आफूले जानकारी गराएको बताए । उनले उच्च अदालतबाट फाइल जिल्ला अदालतमा जाने र जिल्ला अदालतमा धेरौटी जम्मा गरेर केही इन्टरनल काम पूरा गर्न पुनः कारागारमा जाने र त्यसपछि स्वास्थ्य परीक्षण गरी तारिखकका लागि जिल्ला अदालत पुगेर छुट्ने बताए ।


क्लिकमान्डु