५ महिनामा सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ८ अर्ब बढी



काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा सरकारले १ खर्ब ८ अर्ब घाटा ब्यहोरेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मंसिर महिनासम्म सरकारले १ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी घाटा ब्यहोरेको हो ।

पाँच महिनाको अवधिमा सरकारले ३ खर्ब २६ अर्ब ८९ करोड आम्दानी गरेको छ भने ४ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ ।

आम्दानीभन्दा खर्च बढी भएपछि अर्थमन्त्रालय स्रोत व्यवस्थापनमा जुटेको देखिन्छ ।

सरकारको आयातमा कडाइ गर्ने नीति र बैंकको उच्च व्याजदरका कारण आर्थिक गतिविधि सुस्त हुँदा सरकारको लक्ष्य भन्दा निकै कम मात्रै राजस्व उठेको छ ।

यसरी राजस्व कम उठ्दा पनि सरकारले चालु खर्च भने बढाएको छ । पाँच महिनाको अवधिमा सरकारले ३ खर्ब ५३ अर्ब २६ करोड रुपैयाँ चालु खर्च (कर्मचारीको तलब र दैनिक सरकार सञ्चालनका लागि हुने खर्च) गरेको छ । यो गत वर्षको पाँच महिनाको भन्दा ११.६ प्रतिशतले बढी हो ।

तर, विकास निर्माणका काममा भने यो अवधिमा सरकारले जम्मा ३३ अर्ब ९९ करोड रुपैयाँमात्र खर्च गरेको छ । त्यस्तै वित्तीय व्यवस्थापन तर्फ ४६ अर्ब ९६ करोड खर्च गरेको छ ।

पाँच महिनाको अवधिमा सरकारले ३ खर्ब ३६ अर्ब ८९ करोड रुपैयाँले राजस्व संकलन गरेको छ । यो गत वर्षको भन्दा २०.७ प्रतिशतले कम हो । कर राजस्वमार्फत ३ खर्ब १ अर्ब ४६ करोड आम्दानी गरेको छ भने गैह्रकर राजस्वमार्फत २५ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ ।


क्लिकमान्डु