निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धि हासिल गर्न सकिँदैन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले हस्तकला नेपालका लागि अर्गानिक भएको र यसले असिमित सम्भावना बोकेको बताए ।

‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो,’ प्रधानमन्त्रीले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र बिस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्न प्रतिवद्ध छ ।’

प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवद्र्धन गर्नुपर्ने बताए । ‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन । मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु । सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसदको सम्वोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु’ उनले भने ।

उनले आफूले नराम्रो काम नगर्ने र अरुलाई पनि गर्न निदिने बताए । ‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु’ प्रधानमन्त्री प्रचण्डले भने,‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु । यो मेरा लागि परीक्षा पनि हो । म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ।’

निर्वाचनले आफूहरुलाई मिलेर जाने जनमत दिएको भन्दै उनले कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले दिएको बताए । नेताहरु इमान्दार भएर जनताको पक्षमा राम्रो काम नगरे यो परीक्षामा चुक्ने उनको भनाइ छ ।

हस्तकला व्यवसाय प्रवद्र्धनका निम्ति पाठ्यक्रममा नै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताए ।‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ । यसकारण पाठ्यक्रममा नै हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छु’ उनले भने ।

साधारण सभामा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवद्र्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए ।


क्लिकमान्डु