लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने, टावरको सिभिल काम सम्पन्न



काठमाडौं । रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बशन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेस गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताए ।

‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु,’ उनले भने ।

उनले केवलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ ९ वटा टावर मध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको उनले बताए ।

त्यस्तै टप स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य अगाडि बढिरहेको उनले जानकारी दिए ।

यो केवलकार परियोजनाको निर्माण कार्य २०७८ साल पुस महिनामा शुरु भएको थियो ।


क्लिकमान्डु