हिमालयन रिइन्स्योरेन्स ५ करोड बढी नोक्सानीमा



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ५ करोड ३० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको असोजसम्ममा ४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यस अवधीमा १ अर्ब ९ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट २ करोड ६३ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले २ करोड ९ लाख ९६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन खर्चमा २४ करोड ७३ लाख १९ हजार रुपैयाँ खर्च गरेको छ । व्यवस्थापन खर्च शिर्षकमा यस अवधिमा कम्पनीले ३ करोड २५ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ३ लाख रुपैयाँ, बीमा कोषमा १३ करोड ६९ लाख ७ हजार रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ५० लाख ५९ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीले सर्वसाधारणलाई ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षभित्रै सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने तयारी थालेको छ ।

कम्पनीको २०७८ कात्तिक २६ गते बसेको प्रथम वार्षिक साधारण सभाबाट कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको थियो ।

यस्तै, कम्पनीले २०७९ जेठ २७ गते प्रिमियममा आईपीओ निष्काशन गर्न प्रस्ताव विशेष साधारणसभा पारित गरिसकेको छ । कम्पनीले सर्वसाधारणका लागि ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । आईपीओ निष्काशन पछि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।


क्लिकमान्डु