सडक अनुगमन गर्दै उपपप्रधानमन्त्री श्रेष्ठले भने- विकास निर्माणमा सरकार अब तमासा हेरेर बस्दैन



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताएका छन् ।

शुक्रबार ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुगेका उनले विकास निर्माणका लागि नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा यसअघि विकास निर्माणको क्षेत्रमा देशले आवश्यक काम गर्न नसकेको भन्दै उनले अब पनि सरकारले विकास निर्माणमा तमासा हेरेर नबस्ने दाबी गरे ।

आफ्नो पहिलो प्राथमिकता नागरिकलाई भयरहीत सडकमा यात्रा गराउने रहेको र त्यसका लागि आफूले काम शुरु गरिसकेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले सडकका समस्या समाधानका लागि प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रबार सम्बन्धित निकायहरुका प्रमुखहरुसँग छलफल गर्ने र समस्याको पहिचान गरी समाधान गर्नका लागि पहल गर्ने अभियानमा आफू लागेको जानकारी दिए ।

सडकका समस्या समाधानका लागि अझै केही समय लाग्ने भए पनि जनतालाई सेवा दिने कुरामा कतैबाट हेलचेक्र्याँइ र कमजोरी भएको खण्डमा सरकारले छुट नदिने उनले बताए ।

सरकारले बनाएका नीति नियमको प्रभावकारी कार्यान्वयन गर्न लाग्ने र सकारात्मक गुणात्मक हस्तक्षेप हुने उनको भनाइ छ ।

सबैलाई जिम्मेवारी बोध गराएर समन्वयात्मक ढंगले काम गर्ने पनि उनको भनाइ छ । गैर जिम्मेवारी काम गर्नेहरुलाई कारबाहीको प्रक्रियामा जान सरकार नहिच्किचाउने उनले बताए ।

‘सबै निकायहरु जस्तो नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता छ । समन्वय र सबैले आफ्नो जिम्मेवारी समयमा नै पूरा नगरेको कारण समस्या देखापरेको छ । काठमाडौं उपत्यकाका सडकहरु मन्त्रालय अन्तर्गतका मात्रै छैनन्, महानगरका पनि कतिपय सडक छन्, उच्चस्तरीय वागमती सभ्यता अन्तर्गतका छन । सबैसँग समन्वय गरेर सडकका समस्या समाधान गर्ने, सडक चुस्तदुरुस्त बनाउने र यस प्रकारको पैदलयात्री हिँड्ने बाटो पनि ठिक ढंगले अघि बढाउने योजनामा काम गर्न खोजिरहेका छौँ’ उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक सुधार गर्ने किसिमबाट काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको बताए । उनले निर्माण व्यवसायीसँग तोकिएको समयभित्र काम सक्नैपर्ने लिखित प्रतिवद्धता भएको बताए ।


क्लिकमान्डु