कोरोना बीमाको रकम तत्काल निकासा गर्न अर्थमन्त्रीलाई बीमक संघको आग्रह



काठमाडौं । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु(सीईओ) को छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको रकम तत्काल निकासा गर्न आग्रह गरेको छ ।

संघले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गर्दै प्रतिवद्धताअनुसार कोरोना बीमा दाबी वापतको सरकारले तिर्नुपर्ने १० अर्ब रुपैयाँ तत्काल भुक्तानी गर्न आग्रह गरेको हो ।

अर्थमन्त्री पौडेललाई संघका अध्यक्ष चंकी क्षेत्री, महासचिव अशोक कुमार ख्डका र अन्य प्रतिनिधिसहितको टोलीले भेट गरेको हो ।

अर्थमन्त्री पौडेललाई अर्थमन्त्री भएकोमा बधाई दिँदै संघले विभन्न बुँदामा सुझाव दिएको छ ।

नेपाल सरकार, निर्जीवन बीमक, नेपाल बीमा प्राधिकरण र नेपाल पुनर्बीमा कम्पनीबीचको सम्झौताको आधारमा नेपालमा कोरोना बीमा योजना प्रचलनमा ल्याइएकोमा कोरोना बीमाको दाबीवापत निर्जीवन बीमक नेपाल बीमा प्राधिकरण र नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दायीत्ववापतको रकम भुक्तानी गरिसकेको उल्लेख गरेको छ ।

कूल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रको २.५ प्रतिशत रहेकोमा ४ प्रतिशत योगदान पुर्याउन सकिने प्रबल सभावना रहेकाले यसमा राज्यले विशेष प्राथमिकताका साथ कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिएको छ ।

नेपाल सरकारले निर्जीवन बीमामार्फत मात्र वार्षिक ५ अर्ब ५० करोड रुपैयाँ राजश्वन संकलन गरिरहेको उल्लेख गर्दै बीमाको दायरा विस्तारित हुँदा राजश्वमा योगदान पनि वृद्धि हुनेतर्फ ध्यानाकर्षण गराएको छ ।

सरकारले बीमा क्षेत्रको सचेतना अभिवृद्धि तथा बीमाको पहुँच बिस्तारसँग सम्बन्धित नीति निर्माण गर्दा बीमा क्षेत्रका विज्ञहरुबाट राय लिन समेत लिन आग्रह गरेको छ ।

बीमा कम्पनीहरुको विस्तृत लेखा परीक्षण पाँच वर्षपछि हुने भएकाले पुनर्बीमा कम्पनीसँग लिन छुट भएको कर पुनः असुली गर्न अत्यधिक समस्या भएको संघले बताएको छ ।

बीमा कम्पनीको विस्तृत लेखा परिक्षण हरेक २ वर्षको अन्तरालमै गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । निर्जीवन बीमकलाई आय करको दर ३० प्रतिशत रहेकोमा जीवन बीमक सरह २५ प्रतिशत कायम गर्नुपर्ने माग संघले राखेको छ ।


क्लिकमान्डु