नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने, स्टल बुकिङ खुला



काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी चैत २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्टिय व्यापार मेला गएको दुई वर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन । अहिले अवस्था सामान्य भएको भन्दै मेला गर्न लागेको आयोजकको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आज पत्रकार सम्मेलन गर्दै यो वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नर्वौ संस्करण रहेको जनाएको छ । यस वर्षको मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता रहनेछ ।

मेलामा नेपाली हस्तकलाका साथै एनटीआइएस एण्ड मेड इन नेपाल प्रोडक्टहरुको प्रर्दशनी गरिने छ । यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी समेत हुनेछ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा एनटीआइएसका उत्पादनहरुको प्रदर्शनीबाट नेपालको औद्यौगिक व्यवसायिक विकासका सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिएको छ ।

कुल ३०० भन्दा बढी स्टलमार्फत् मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरु,चीन, थाइल्यान्ड, म्यानमार, लगायतका देशहरुको सहभागिता रहने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, लगायतका देशहरुबाट क्रेताहरु आउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकला उत्पादनहरु, एनटीआइएस एण्ड मेड इन नेपाल प्रोडक्ट रहनेछन् । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिनेछन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसगं भेटघाट तथा द्धिपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुबाट छानिएका उत्कृष्ट स्टल तथा उत्पादनलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराने छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाईसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तराष्ट्रिय बजार प्रर्बद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्‍याउने आशा एवं विश्वास महासंघले लिएको छ ।

आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्र एक सय अर्व अमेरिकी डलर पुरयाउने, अतिरिक्त २२ लाख मानिसलाई औपचारिक निजी क्षेत्रमा रोजगारी सिर्जना गर्ने, व्यापार घाटा र अर्थतन्त्रको अनुपात आधा घटाउने लगायतका उद्देश्यले महासंघले ल्याएको भिजन पेपर २०३० को सफल कार्यान्वयनमा समेत अन्तराष्ट्रिय व्यापार मेलाले सघाउ पुर्याउने विश्वास महासंघको छ ।

मेलामा जेष्ठ नागरीक तथा फरक रुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ ।


क्लिकमान्डु