काठमाडौंमा अब साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध, गरे कारबाही गर्ने महानगको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटी (फूटपाथ) तथा अन्य सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न/गराउन निषेध गरेको छ ।

महानगरले आज एक सूचना जारी गर्दै सडक पेटी (फुटपाथ)को प्रावधान, निर्माण तथा प्रयोजन मानिसहरुलाई आवतजावत गर्ने प्रयोजनका लागि भएको भन्दै सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य नगर्न चेतावनी दिएको छ ।

‘सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेको/पुऱ्याइएको हुँदा त्यस प्रकृतिका कार्य नगर्न/नगराउन संवद्ध पक्षलाई सचेत गराउने, त्यस्तो कार्य निषेधित भएको सूचना सम्प्रेषण गर्ने र त्यस्तो अनधिकृत कार्यमा संलग्न हुने व्यक्ति, संघसंस्था समेतलाई कानुन बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराउन’ यो सूचना प्रकाशित गरिएको जनाइएको छ ।

सूचनाको उल्लंघन गरी जोसुकैले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सडकपेटी (फुटपाथ) वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरि कानून बमोजिम हदैसम्मको सजाय गरिने महानगरले सूचनामा जनाएको छ ।


क्लिकमान्डु