प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, एकीकृत समाजवादी र कांग्रेसले के गर्लान् ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्र्ने संवैधानिक व्यवस्था छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ जना सांसद भए पुग्छ।

केही स्वतन्त्र सांसदसमेत गरी १६९ सां‌सदले सरकार गठनको समयमा प्रचण्डलाई समर्थन गरेका थिए । त्यो संख्या बढ्ने गठबन्धनको दाबी छ ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए । अब एकीकृत समाजवादी र कांग्रेसले पनि आफूलाई समर्थन गर्ने प्रचण्डको विश्वास छ ।

बैठक आज बिहान ११ बजे बस्ने छ ।


क्लिकमान्डु