ग्यास सिलिण्डर विस्फोट हुँदा एक घाइते, दुई घरमा क्षति



भक्तपुर । सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा आज खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा एक जना घाइते भएका छन् भने दुई घरमा क्षति पुगेको छ ।

सिलिण्डर बिस्फोट हुँदा थपलियाकी श्रीमती तारा घले थपलिया घाइते भएको र उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

बिस्फोट हुँदा घरको भान्छा कोठा भत्किएको छ भने पार्किङमा रहेको कारको सीसा फुटेको र छिमेकीको घरको झ्यालका सिसा फुटेर क्षति पुगेको उनले जानकारी दिए ।

ग्यास लिक भएर भान्छा कोठामा थुप्रिएको अवस्था भान्छा कोठामा पस्ने वित्तिकै सिलिण्डर फिस्फोट भएर ठूलो आवाज आएको उनको भनाइ छ ।

घटना भए लगत्तै बम बिस्फोट भएको आशंकामा नेपाल प्रहरी, नेपाली सेनाको बम डिस्फोजल टोली र अपराध अनुसन्धानमा सहयोगी प्रहरीको तालिम प्राप्त कुकुरसमेत घटनास्थल पुगेर अनुसन्धान गरिएको प्रनाउ पाण्डेले जानकारी दिए ।


क्लिकमान्डु